Shittalpati
सहिद दिवस र यसको सार्थकता

देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर मंगलबार सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुस पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । आजको दिन सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुसरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर व्यवहारमा सहिदले देखाएको मार्ग अनुसरण नगर्ने तर देखाउनैका लागि वर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस औपचारिकतामा सीमित हुँदै आएको छ । देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहुति दिएता पनि सहिदका कैयौं सपना पूरा भएका छैनन् ।

प्रत्येक वर्ष सहिद दिवस मनाउने कर्मकाण्डी कार्यक्रमबाहेक स्थानीय, प्रदेश तथा संघीय सरकारले सहिदको योगदानको कदर गर्न सकेका छैनन् । नेपालमा पहिलो सहिद को हुन् ? भन्ने विषय समेत अन्यौल छ । लखन थापालाई नेपालको पहिलो सहिद भन्ने गरिए पनि विवादमै छ । यस तथ्यमा सरकारको पनि मौन समर्थन रहेको छ तर लखन थापाभन्दा पहिले नै राणा सरकारको विरोध गर्दा प्राणदण्ड पाएका बाँकावीर नेपालको पहिलो सहिद भएको विषयमा प्रशस्त जिकिर हुन थालेको छ । हालसम्म पनि ऐतिहासिक पृष्ठभूमिको अध्ययन, मनन् र पर्याप्त गृहकार्य नै नभएको सन्दर्भमा पहिलो सहिदको निरर्थक विवादमा फस्नु पनि सहिदकै भावनाविपरीत हुने तथ्यप्रति ध्यान दिनैपर्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको माघ १० गतेदेखि १५ गतेसम्म फरक–फरक मितिमा हत्या गरिएको थियो । नेपालमै पहिलो पटक प्रजापरिषद् नामक दल स्थापना गरेर उनीहरुले राणा विरोधी आन्दोलन नगरेको भएपनि त्यति सहजै राणा शासन ढल्ने थिएन । राणा शासन ढल्नु भनेको नेपाली राजनीति आधुनिक चरणमा प्रवेश गर्नु त हो नै, अधिकार प्राप्तिको आन्दोलन नयाँ अध्यायमा प्रवेश गर्नु पनि हो । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनहरु नयाँ चरणमा प्रवेश गरे र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु त्यसैको देन हो भन्दा अत्यूक्ति नहोला । यसर्थ पनि निजी र दलगत स्वार्थबाट माथि उठेर सहिदको सम्मान गर्न जरुरी छ । यसो गर्न सकियो भने मात्र पनि सहिद दिवस मनाउनुको सार्थकता रहन्छ । अन्यथा दिवस औपचारिकतामा मात्रै सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update