Shittalpati
तानसेनमा एमालेले गर्‍यो रक्तदान  

पाल्पा, नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिद दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेको हो ।

एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले आफैले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । तत्कालीन समयमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको भन्दै राणा शासकले मृत्यु दण्ड दिई हत्या गरेका थिए । प्रजातन्त्र प्राप्ति पछि माघ १६ गतेलाई शहिद दिवसको रुपमा मनाउने परम्परा हालसम्म रहँदै आएको छ । भोलि सहिद दिवस भए पनि सरकारले १० गतेदेखि नै सहिद सप्ताहा मनाउँदै आएको छ ।

२००७ सालको प्रजातन्त्र प्राप्ति देखीहाल सम्मका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेकपा एमाल तानसेनले रक्तदान गरौं, जीवन बचाउ, सहिदहरुलाई सम्मान गरौं, सहिदको भावना अनुसार शासक तथा राजनीतिक नेतृत्वले काम गरौं भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कमिटी अध्यक्ष गुराँश आत्रेयले बताए । रक्तदान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सहिद दिवस अवसरमा रक्तदान कार्यक्रम गरी पुण्यको काम गरेको बताए ।

युनाटेड मिसन अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा १६ जना पुरुष र ६ जना महिलाले रहेका छन् । कार्यक्रममा सबै भन्दा बढी उमेरका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख ५८ बर्षिय टंकनाथ खनालले समेत रत्तदान गरे । नगर कमिटी अध्यक्ष गुराँस आत्रेयको अध्यक्षता, उपाध्यक्ष शशि श्रेष्ठको स्वागत र सचिव महेशलाल शाक्यको सञ्चालनमा रक्तदान कार्यक्रम चलेको थियो । रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update