Shittalpati
नेपाल नर्सिङ दिवसको औचित्य

वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । यसै उपलक्ष्यमा हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ । सोमबार पनि देशभर यो दिवस मनाउन लागिएको छ । नेपालमा नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै नेपाल नर्सिङ संघ स्थापना भएपनि नेपालका नर्स अझै न्यूनतम सेवा सुविधाका लागि लड्न बाध्य छन् । नर्सिङको इतिहास नेपालमा खासै पुरानो नभए पनि अहिलेको परिपक्ष्यमा नर्सहरूको महत्व अनि विकास धेरै भइरहेको छ । नर्स बिनाको अस्पतालको परिकल्पना गर्न सकिदैन । तर पनि नर्सिङ पेसा अझै व्यवस्थित हुन सकेको छैन । नर्सलाई न्यूनतम पारिश्रमिक पाउन आन्दोलनमै होमिनुपर्ने बाध्यता छ । बिरामीको सेवामा दिनरात खट्नुपर्ने नर्स पेसाप्रति सन्तुष्ट हुन नसकेपछि अहिले विदेशिन बाध्य छन् । यो नेपालको स्वास्थ्य क्षेत्रका लागि दुखको कुरा हो ।

कोरोना महामारीका बेला नर्सले आफ्नो सुरक्षाको पर्वाह नगरी सेवा प्रदान गरेको कसैले बिर्सन सक्दैन । जसका कारण नर्र्सहरूको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । कोभिड–१९ को उपचारमा जोखिम मोलेर फ्रन्टलाइनमा खटिइरहेका नर्सहरूका कारणले पनि नर्सिङ दिवसको महत्व अझै बढेको छ । त्यस्तो कठिन समयमा पनि आफ्नो स्वास्थ्य, घर परिवारको चिन्ता नगरी आफ्नो कर्तव्य निष्ठाका साथ पालना गरी बिरामीको सेवा गर्नमा तत्पर थिए र अहिले पनि छन् । त्यसैले नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिङ संघका पदाधिकारीहरूले दिवसको ‘सेलिब्रेसन’ गर्ने मात्र नभई उनीहरूको हकहितका लागि दीर्घकालीन योजना बनाएर यस पेसामा संलग्न सम्पूर्ण कर्मचारीको हक सुरक्षित गर्नुका साथै भविष्य समेत सुनिश्चित गर्ने दिशामा लाग्न जरुरी छ । यसो भयो भने मात्र दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update