Shittalpati
विश्व कुष्ठरोग दिवसको सन्दर्भ

जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस । १९५४ देखि हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ । यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष २ हजारभन्दा माथि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । नेपाल सरकारले निःशुल्क कुष्ठरोगको औषधि उपलब्ध गराउँदै आइरहेको छ । कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरुलाई पनि सर्न सक्छ । कुष्ठरोग सुरुकै अवस्थामा पत्ता लगाउन गाह्रो हुने भएका कारण यसको पहिचानमा कमी भइरहेको चिकित्सकहरूले बताउने गरेका छन् । उनीहरूका अनुसार कुष्ठरोगको सुरुवाती चरण सानो दागबाट हुने भएका कारण धेरैजसोले हेलचेक्र्याइँ गर्ने गरेको पाइन्छ । कुष्ठरोगको समयमै पहिचान भई उपचार हुन नसकेमा बिरामी अपाङ्गता हुनुका साथै उसको ज्यानसमेत जान सक्छ ।

हरेक वर्ष मनाइने कुष्ठरोग दिवसमा विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव नियन्त्रण गर्ने प्रयास गर्ने गरिएको छ । तर दिवस मनाउन थालेको यतिका वर्ष हुँदासम्म अझै पनि कुुष्ठरोगीहरुप्रति गरिने भेदभावमा न कमी आएको छ नत विरामीहरुको संख्यामा नै । कुुष्ठरोगीहरुलाई आफन्तबाट नै विभेद गरिएको छ । समयै रोगको पहिचान गरी औषधि उपचार गरे निको हुने रोग भए पनि धेरैले यसलाई वेवास्ता गर्ने गरेका छन् । हाम्रो नेपाली समाजलले अझै पनि यो रोगलाई पूर्वजन्मको पाप भएको भन्दै अपमान गर्ने गर्दछन् । यो पूर्व जन्मको पाप होइन, एक किसिमको रोग मात्र हो । जुन औषधि उपचार गरे निको हुुन्छ । रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । नेपालमा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जान सकिएको छैन । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । तसर्थ आमनागरिकहरुमा कुष्ठरोगीहरुप्रति सम्मान र औषधि उपचार गरे निको हुन्छ भन्ने सचेतना जगाउन सकियो भने मात्र यो दिवस मनाउनुुले सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update