Shittalpati
तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग–रामपुर सडक  माघ १७ देखि बन्द हुुने

पाल्पा,  जिल्लाका  दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका  तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक  निश्चित समयका लागि बन्द हुने भएका  हुन् । 

सडकको ढलान, मर्मत र स्तरोन्नतीको कार्य गर्न यी दुई सडक बन्द गरिने भएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको सडक सुरक्षा समितिको बैंठकले निर्माण व्यवसायीबाट निर्माण कार्यका लागि सडक बन्द गरेर सहज गरिदिन आग्रह गरे बमोजिम दुवै सडक खण्ड निश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ । 

बैंठकले तानसेन –रानीमहल सडक खण्ड अन्तर्गत अवल– रानीमहल खण्डमा सडक ढलान तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० चैत्र ५ गतेसम्मका लागि पूर्ण रुपमा २४ सै घण्टा सडक बन्द गर्ने बताएको  छ ।  निर्माण व्यवसायी गह्रौकाली कन्स्ट्रसन प्रा. लिले निर्माण कार्य गरिरहेको सो क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढलान तथा मर्मत कार्य गर्दा सवारी आवतजावत गर्न जोखिम हुने भएकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सहजीकरण गर्न सडक पूर्वाधार विकास कार्यालय, पाल्पालाई आग्रह गरेको थियो ।  

यस्तै आर्यभञ्ज्याङ्ग –रामपुर सडक खण्ड अन्तर्गत हुमिन – ताहुँ (ताहुँ देउराली) खण्डमा सडकमा स्तरोन्नती तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० फागुन १६ गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए ।  निर्माण व्यवसायी  दिव्यज्योती कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य गरिरहेको ताहुँ देउराली क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढुङ्गा / माटो कटिङ्गको कार्य गर्दा दुर्घटना हुन सक्ने जोखिम अत्यधिक रहेकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सडक कार्यलयलाई आग्रह गरेको थियो । सो  आग्रह अनुसार सडक सुरक्षा समितिले  दैनिक विहान १०ः३० बजेदेखि दिँउसो ३ः३० बजेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो । सो समयमा एम्बुलेन्स, शववाहन, दमकल जस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा अवरोध नहुने गरी कार्य गर्न  बैठकले  निर्माण व्यवसायीलाई अनुरोध गरेको  छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update