Shittalpati
अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ

विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्न आवश्यक ठानेर नै यो दिवस मनाउन थालेको हो । भन्सार प्रशासन कार्यलाई राजस्व संकलनमा मात्र सिमित नराखी मुलुकको समग्र आर्थिक विकासका लागि सहज व्यवसायिक वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण टेवा पुर्‍याउने गर्दछ । तर नेपालमा भने भन्सा छली गर्ने क्रम रोकिएको छैन । यो अत्यन्त दुःखको कुरा हो । 

पछिल्लो समयमा भन्सार छली गर्ने क्रम बढेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ । यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुखद् हो । नेपालको भन्सार प्रशासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । तर भन्सार छली रोक्ने कुरामा कसैको पनि ध्यान पुग्न सकेको छैन । राजस्व बिना सरकार सञ्चालनको कल्पनासमेत गर्न सकिँदैन । त्यसैले राजस्व छल्ने विषय कसैलाई पनि मान्य हुँदैन । यो एउटा अक्षम अपराध हो । सरकारी तहबाट यस्ता अपराधीको संरक्षण नहुने हो भने धेरै हदसम्म राजस्व ठगीमा नियन्त्रण हुन सक्छ । तसर्थ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार छली गर्ने कार्यलाई निरुत्साहित गर्न जरुरी छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update