Shittalpati
बौद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि होः मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताए । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा मंगलबार दिएका शुभकामना सन्देशमा उनले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उनका उपदेश मंगलबार सम्पूर्ण मानव जातिमा स्थापित भएको उल्लेख गरे ।

उनले बुद्धले २९ वर्षका उमेरमा दुःखको कारणको खोजीमा गृहत्याग गरेर भ्रातृत्व र मानवकल्याणका लागि महान् दार्शनिक विचारबाट समाजलाई दीक्षित गरेका नै मानव समाज सत्कर्मको बाटामा हिँड्न प्रेरित भएको सन्देशमा जनाए । मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा माटोमुनि दबिएर रहेका सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रुपमा संरक्षित गर्नु आवश्यक रहेको जनाउँदै प्रदेश सरकारले बुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिकस्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा र अरौराकोटको खोजअनुसन्धानका साथ प्रदेश सरकारले योजनाबद्ध रुपले काम अघि बढाएको बताए ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले गत वर्ष ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंँ, शान्तिको सन्देश फैलाऔंँ’ भन्ने नाराका साथ अघि बढेको लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण असमर्थ भएको उनले जनाए । विश्व शान्तिको कामनाका साथै कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्य र सुरक्षाकर्मीको सम्मानमा मंगलबार साँझ घरघरमा दीप प्रज्वलन गर्न पनि उनले सबैलाई आह्वान गरेका छन् । -रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update