Shittalpati
चिसोबाट बच्न सतर्कता अपनाऔं

केही दिनयता देशभरि नै अत्यधिक चिसो बढेको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित यतिखेर तराईका जिल्लाहरु बन्न पुगेका छन् । त्यहाँ चिसोका कारण धामाधम विद्यालयहरु बन्द भएका छन् । शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका केही स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । त्यहाँका बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाभित्रका विद्यालयरु अहिले तीन दिनका लागि बन्द भएका छन् । जसका कारण हजारौैं विद्यार्थीको पढाइ प्रभावित बन्न पुगेको छ । यद्यपी स्वास्थ्य भन्दा ठूलो केही छैन । स्थानीय सरकारले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी विद्यालय बन्द गर्ने जुन निर्णय गरेका छन् त्यो आफैमा सकरात्मक मान्नुपर्छ ।

एकातिर घाम नलाग्ने र अर्कोतिर मुटु छेड्ने कठ्याग्रिँदो चिसो बढ्न थालेपछि तराईको जनजीवनसमेत थप कष्टकर बन्न पुगेको छ । तराईमा झण्डै एक हप्तादेखि नै शीतलहर चलेकाले कयौँलाई बिरामीसमेत बनाएको देख्न सकिन्छ । त्यसबाट सबैभन्दा बढी प्रभावित वृद्धवृद्धा, बालबालिका नै छन्, त्यसका साथै अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको हकमा समेत चिसो काल बनेर आएको छ । जाडोबाट बच्नको लागि आवश्यक तयारी नगर्दा जनजीवन बढी प्रभावित हुने गर्दछ । कतिपय अवस्थामा भने जाडोबाट बच्न सामान्य सावधानी नअपनाउँदा पनि जनधनको क्षति पुगेको देखिन्छ । जस्तो कि, जाडोमा बालबालिका, वृद्धवृद्धाहरुलाई साँझ–बिहान चिसो बढेको बेला न्यानो कपडा लगाइदिने, तातो र ताजा खानेकुरा खान दिने, घाम लागेपछि मात्र हिँडडुल गराउने गरेमा मात्र पनि चिसोबाट धेरै हदसम्म बच्न सकिन्छ । चिसोमा आगो ताप्ने बेलामा समेत सचेतता नअपनाउँदा यो मौसममा आगलागीका घटनासमेत बढ्ने गरेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने गर्दछ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । झोलपदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । यसर्थ बढ्दो चियोबाट बच्च उच्च सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update