Shittalpati
विद्यार्थी विदेसिन नदेऊ

पछिल्लो केही वर्ष यता नेपाली विद्यार्थीहरु विदेसिनेको संख्या बढ्दो छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने विद्यार्थीको लर्को हेर्दा लाग्छ, नेपाल छिट्टै युवाविहीन बस्तीमा परिणत हुँदैछ । नेपालको शिक्षा नीतिका कारण विद्यार्थीहरु विदेसिन बाध्य छन् । कक्षा १२ पछिको भविष्य विद्यार्थीहरुले विदेशमा खोज्ने थालेका छन् । हरेक वर्ष अध्ययनका लागि भन्दै विदेसिने एक लाख हाराहारी नेपालीमध्ये अधिकांशको प्राथमिकता पढाइभन्दा रोजगारी हुन्छ । सुरक्षित भविष्यको खोजीमा विद्यार्थी बनेर विदेसिने र उतै बस्ने प्रवृत्ति पछिल्ला दिन अझ तीव्र देखिएको छ । जुन मनसायका साथ नेपालीहरू विदेशतिर दौडिरहेका छन् त्यो भने चिन्ताको विषय हो । स्वदेशमा शिक्षासँगै रोजगारीको अवसर प्राप्त नहुँदा विद्यार्थी मोटो रकम खर्चिएर विदेश गइरहेका छन् । शिक्षा प्रणाली व्यावहारिक हुन नसक्दा युवापुस्ताले स्वदेशी शिक्षाभन्दा विदेशी शिक्षा रोज्ने गरेका छन् । खासगरी युरोपेली मुलुकमा अध्ययनका लागि विद्यार्थी बाहिरिइरहेका छन् । विद्यार्थी पलायन रोक्न गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ ।

नेपालमा लाखौँ खर्च गरेर पढाइ गरे पनि रोजगारीको अवसर नहुँदा विद्यार्थी विदेसिनु परेको अवस्थाप्रति सरकार गम्भीर बन्नै पर्छ । अष्ट्रलिया, युरोप र अमेरिका पुग्ने विद्यार्थीहरुले अध्ययन मात्र होईन भविष्य समेत उतै खोज्दा देशका होनहार युवाहरु पलायन भएका छन् । विदेशमा शिक्षा प्राप्त पछि स्वदेश फर्किने र देशको विकासका लागि काम गर्ने नेपालीको सख्या नगन्य मात्रा छ । यसैले विद्यार्थीको नाममा विदेसिने नेपालीलाई रोक्न आवश्यक छ । समग्रमा राष्ट्रिय योजनाको खाका राम्रो नभएकाले विद्यार्थी देश छाडिरहेछन् । शिक्षा नीति मात्र होइन,देशको समग्र नीतिमा पुनःसंरचना नगरी विद्यार्थी देशमा रोकिनेवाला छैनन् । राज्यले युवा जनशक्ति टिकाउन समग्र प्रणालीमा परिवर्तन गर्न ढिलो भइसकेको छ । तसर्थ अब छिटो भन्दा छिटो शिक्षा प्रणालीमा सुधार गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी विदेश जानबाट विद्यार्थी रोक्न जरुरी छ ।  

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update