Shittalpati
सवारीको तीव्र गति रोकौं

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सवारी अनुशासन उल्लंघन र तीव्र गतिका कारण सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ । प्रायजसो दुर्घटना चालकले तिव्र गतिमा सवारी चलाउँदा हुने गर्दछन् । त्यसैले सवारीसाधन चलाउँदा चालकले होसियारीपूर्वक चलाउनुपर्छ । चालक सर्तक नहुने हो भने दुर्घटनामा कमी आउँला भन्न सकिदैन् । चालककै लापरवाहीले बढी दुर्घटना हुने भएकाले चालकलाई सडक नियमको पूर्ण ज्ञान हुनुपर्छ । अर्काे कुरा सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ । ट्राफिक प्रहरीले शहर, सडक जताततै ‘तीव्र गति, जीवन क्षति’को बोर्ड राख्ने गरेको छ । तैपनि सवारी चालकको चेत खुल्दैन । यही चेत नखुलेकै कारण दिनहुँ हृदयविदारक सवारी दुर्घटना हुने गर्दछन् । भनिन्छ, दशा बाजा बजाएर आउँदैन । केही गल्ती नगरेका व्यक्तिहरू दुर्घटनामा परे र अनाहकमा ज्यान गुमानुपर्ने अवस्था आउनु दुखद् हो । एउटाको गल्तीका कारण अरुले ज्यान गुमाउनु पर्दाको पीडा अति नराम्रो हुन्छ । तिव्र गतिमा सवारी चलाउने चालकलाई कारवाही गर्ने परिपाटी नहुँदा पनि यस्ता घटना घट्ने गर्दछन् ।

हरेक दिन घट्ने सवारी दुर्घटनाले व्यक्तिमात्रै हैन, परिवार तथा आफन्तमा गहिरो असर पर्छ । सवारी दुर्घटनाकै कारण बर्सेनि हजारौं मानिसको ज्यान जोखिममा परे पनि दुर्घटना न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । सुरक्षित सडक यात्राको लागि सरकार पनि संवेदनशील भएर लाग्नुपर्छ । सार्वजनिक सवारी सुरक्षित हुनुपर्ने विषयमा नीति नियम बनाउने निकायले पनि तदारुकता देखाउनु पर्छ । सुरक्षित यात्राको अधिकार सार्वजनिक बहसको विषय बन्न आवश्यक छ । दुर्घटना न्यूनीकरणमा प्रभावकारी कदम चाल्नका लागि सरकारले ढिलो गर्नु हुन्न । तसर्थ सरकारले सर्वप्रथम तीव्र गतिमा सवारी चलाउनेलाई विशेष कारवाही गर्नुका साथै जनचेतना जगाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update