Shittalpati
राष्ट्रिय सभा निर्वाचन : सबै प्रदेशमा पठाइयो मतपत्र

पाल्पा,राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक मतपत्र सातवटै प्रदेशमा  पठाइएको निर्वाचन आयोगले जनाएको छ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्र छपाई गरी सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाईसकिएको आयोगले जनाएको हो ।

आयोगले निर्वाचनका लागि ३८ प्रकारका मतपत्र छापाई गरेको छ । जसमा छ हजार नौ सय १० मतपत्र  छपाइ गरी पठाइएको हो । प्रदेश राजधानी रहेका जिल्लाहरू मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मदतान गर्ने छन् । जसमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका सात सय ४० मतपत्र, कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका नौ सय ४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका एक हजार सात सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् ।

त्यसैगरी कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका सात सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका नौ सय मतपत्र रहेका छन् । राष्ट्रिय सभाका एकतिहाइ सदस्य अर्थात् २० जनाको पदावधि २० फागुनमा सकिँदै छ । दुई हजार ४७ मतदाताले उनीहरूलाई चुन्नेछन् । प्रदेश सभा सदस्य पाँच सय ४९ जना, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४ सय ९८ जना गरी जम्मा दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको आयोगले जनाएको छ । तोकिएका मतदानस्थलमा मतदानका लागि प्रदेश सभाका सदस्यलाई बेग्लै र पालिका प्रमुख–उपप्रमुखहरूलाई बेग्लै केन्द्र तोकिएको आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा ११ माघमा बिहान ९ बजेदेखि अपराÞन ३ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update