Shittalpati
लगानीमैत्री वातावरण बनाऊ

मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण मुलुक दिशाहीन भइरहेको छ । जसका कारण नेपालको अर्थतन्त्रले अझै पनि आशातीत परिणाम दिन सकेको छैन । यहाँ लगानीको उचित वातावरण नहुँदा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन । विदेशका लगानीकर्ताहरू नेपालमा लगानीको सुरक्षित वातावरणको अवसरमा छन् तर त्यो अवसरको उपयोग गर्न नपाउँदा केवल निरासाबाहेक केही छैन । नेपालमा जारी राजनीतिक अस्थिरताका बीचमा लगानीकर्ताहरू लगानी गर्न हिचकिचाइरहेका छन् । उद्योगी मैत्री वातावरण मुलुकमा छैन । सञ्चालनमा रहेका उद्योगहरू समेत धरासायी बन्दै गएका छन् । कतिपय त थेग्न नसकेर बन्द समेत भए । बडो दुःखका साथ भन्नुपर्छ ऋण धन गरेर लगानी गरेको उद्योग व्यवसाय बन्द गर्नुपर्दा उद्योगीहरूको अवस्था कस्तो हुन्छ ? सायदै कल्पना गर्न सकिन्छ । सरकारले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने तथा विदेशी लगानी धेरै भित्र्याउने उद्देश्यका साथ आगामी वैशाखमा लगानी सम्मेलन गर्दैछ तर सम्मेलनले मात्र लगानी बढ्दैन भन्ने यसअघिका लगानी सम्मेलनबाट देखिइसकेको छ ।

लगानी प्रोत्साहनका लागि अनुकूल वातावरण निर्माण सबैभन्दा महत्वपूर्ण रहन्छ । लगानीकर्ता आउनुअघि उनीहरू लगानीका लागि अनुकूल वातावरण, लगानी सुरक्षाको निश्चितता र मुनाफाको दरमा ढुक्क हुन खोज्छन् । यसका लागि एकातिर हाम्रो भौतिक पूर्वाधार प्रभावकारी हुन जरुरी छ, अर्कातिर लगानीका लागि आउनेहरूले झन्झट व्यहोर्नु नपरोस् भन्ने निश्चित गर्नुपर्छ । नेपालजस्तो देशमा सहायता दिनेले समेत घुस र कमिसन दिनुपर्ने गरी अल्झाउने गरिन्छ भने लगानीकर्तालाई उत्साहित बनाउन त थप धेरै कानुनी तथा संस्थागत व्यवस्था गरिनु आवश्यक हुन्छ । त्यति मात्र होइन लगानीकर्ताले प्रस्ताव पेस गरेपछि एउटै ढोकाबाट प्रवेश गरेर निस्कँदा स्वीकृति पाउने अवस्था सिर्जना हुनुपर्छ । यसो भयो भने मात्र विदेशी लगानी भित्र्याउन सकिन्छ । तसर्थ देशको अर्थतन्त्रमा सुधार ल्याउने हो भने सरकारले सम्मेलन गर्ने मात्र होइन लगानीमैत्री वातावरण सिर्जना गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update