Shittalpati
भूकम्प सुरक्षा दिवसको औचित्य

विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको पाइन्छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले हरेक वर्ष यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । त्यसता गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा १ सय ५३ जनाले ज्यान गुमाए । तर यसबाट अझै पाठ सिक्न सकिएको छैन् । ९० सालको भूकम्पबाट पाठ नसिकेकै कारण पटक– पटक गएका भूकम्पबाट ठूलो क्षति व्यहोर्नु परेको छ । यो अत्यन्त दुखको कुरा हो ।

२०७२ साल वैशाखमा गएको विनासकारी भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणको क्रम अहिले पनि जारी रहेको सन्दर्भमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको आफ्नै महत्व छ । भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु र भूकम्पको क्षति पछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउन सके मात्र भूकम्प सुरक्षा दिवसको सार्थकता रहन्छ । तर, २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा यी दुवै कुराको सार्थकता देखिएन । यदी भूकम्पको सुरक्षा सतर्कताबारे जनतालाई सुसूचित गराउन सकिएको भए न ०७२ भूकम्पको क्षति व्यहोर्नु पथ्यो नत २०८० कार्तिक १७ मा जाजरकोटको त्यति ठूलो जनको क्षति हुने थियो । यसले अझै पनि भूकम्पपछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने सन्देश जान सकिरहेको छैन । भूकम्प उत्थानशील समुदायको निर्माण गर्न सहयोग गर्ने हेतुले वर्षैपिच्छे यो दिवस राष्ट्रव्यापी रुपमा बनाउने गरिन्छ । तर यो दिवस मनाएर दुर दराजमा रहेका व्यक्ति र समुदायले के सिके र तिनको व्यवहारमा के परिवर्तन भयो भन्ने बारे कहि कतै उल्लेख छैनन् । दिवस मनाउनकै लागि मनाउनुको  कुनै अर्थ छैन । दिवसका अवसरमा त स्थानीय सरकारको अगुवाइमा गाउँ–गाउँमा र विद्यालयमा पुगेर भूकम्पबाट सुरक्षित हुने ज्ञान र सचेतना जगाउन सकिन्छ तब मात्र दिवस मनाउनुको औचित्य रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्न पुग्छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update