Shittalpati
पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा

पाल्पा, पाल्पाका साहित्यकारहरुले दुई दिने साहित्यिक यात्रा गरेका छन् । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा जिल्लाका साहित्यकारहरुको एक टोली विभिन्न जिल्लाको यात्रा गरेको हो । समृद्ध र समुन्नत पाल्पाली साहित्यको व्यापिकरणका लागि साहित्यिक यात्रा गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको नेतृत्वमा गएको साहित्यकारहरुको टोलीले यही पौष २७ र २८ गते वालिङ, पोखरा, घान्दुक, कुस्मा, बेनी, बाग्लुङ, पूर्तिघाट र मिर्मिको यात्रा गर्दै तानसेन फर्किएको छ ।

 साहित्यकार शम्भु अर्यालको पुस्तकालय वालिङमा साहित्यिक वार्ता र पुस्तक आदान–प्रदान गरी  साहित्यकार रोहित ज्ञवालीले सञ्चालन गरेको चक्लेटी क्विज खेल्दै अघि बढेको टोली  पोखरा पुगी हेमराज स्मृति प्रतिष्ठानकी अध्यक्ष कवयित्री रीता पहारीसँग साहित्यिक भेटवार्ता ,परिचयसहित  कृतिको आदान–प्रदान गरेको थियो । त्यसपछि पाल्पाली समाज पोखराका पदाधिकारीहरूसँग भेटघाट गरि पाल्पाको साहित्य ,संस्कृति, शिक्षा र  व्यापार प्रवद्र्धनका विषयमा जानकारीमूलक छलफल भएको थियो ।

साहित्यिक यात्रामा सहभागी टोलीहरू जनकविकेशरी धर्मराज थापाको कविघर बाटुलेचौर पुग्दा पाल्पाली टोलीलाई बाजागाजा सहित स्वागत गरिएको थियोे । राष्ट्रिय एकता दिवस समेत परेको दिन भएकाले जनकविकेशरी धर्मराज सावित्री थापा प्रतिष्ठान र शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको संयुक्त आयोजनामा पाल्पा –पोखरा कवि वाचन समेत भयो । कार्यक्रममा धर्मराज थापाको संक्षेपमा चर्चा हुनुका साथै कविता वाचन समेत गरिएको थियोे । धर्मराज थापाद्वारा स्थापित शुक्ला साहित्य प्रतिष्ठानद्वारा भजन साहित्य समेत प्रस्तुत गरिएको प्रतिष्ठानले जनाएको छ ।

      यात्रामा पुष्कर अथक रेग्मी, राजेन्द्र गोपाल सिंह, रोहित प्रसाद ज्ञवाली, भोजराज भट्टराई , गम्भीर रायमाझी, रामजी ढुङ्गाना, आयाम कार्की, रोहित सिंह, शिव जि.आर.सहित बाल सहभागीहरू अस्तित्व रेग्मी, आविष्कार भट्टराई र ग्रिष्मा रायमाझी समेतको टोलीमा पोखरामा कवयित्री रीता न्यौपाने,डा.एलिषा रेग्मी र अस्मिता श्रेष्ठको सहभागीता रहेको थियोे । साहित्यिक टोली साझ घान्दु्कमा बास बस्न पुगेको थियो । त्यहाँ सहभागीरूले आ–आफ्नै तरिकाले सिर्जना  र बुँदा टिपोट गरेका थिए । विहान रमणीय घान्दुक अवलोकन गरी कुस्मा, पर्वतको जीपलाइन र बन्जीजम्पिङ क्षेत्र अवलोकन गरि १२ बजे म्याग्दीको वेनी बजार पुगी खाना गलेश्वर महादेवको दर्शन गरी बाग्लुङ पुगी बाग्लुङ कालिकाको दर्शन गरी फर्कने तयारीमा रहँदा साथीहरूले आ–आफ्नै तरिकाले यात्राको टिपोट गरि करिडोरको बाटो कालीगण्डकीको तिरैतिर गुल्मीको पूर्तिघाट, स्याङ्जाको मिर्मी हुँदै साँझ पाल्पाको तानसेन आइपुगेको थियो । केही बर्ष अघि साहित्य तिर्थ कपिलधामा यात्राको आयोजना गरेको प्रतिष्ठानले यसवर्ष विभिन्न जिल्लामा साहित्यिक यात्राको आयोजना गरि पाल्पाको साहित्यिक गतिविधि र चिनारीलाई प्रचार–प्रसारमा ल्याउन महत्वपूर्ण योगदान खेलेको पाइन्छ । यस पटक प्रतिष्ठानले आयोजना गरेको साहित्यिकारहरूले पवित्र कालीगण्डकीको परिक्रमा गरे ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update