Shittalpati
दिव्योपदेश अझ बढी सान्दर्भिक

तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन समेतका बहुआयामिक क्षेत्रमा शाहका उपदेश अहिले पनि  अझ सान्दर्भिक छन् । झन्डै सात दशकअघिदेखि  हरेक वर्ष पुस २७ लाई पृथ्वी दिवसका रुपमा मनाउन थालिए पनि २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना भएदेखि त्यसलाई राष्ट्रिय एकता दिवसको स्वरुपमा मनाइँदै आइएको छ । यस वर्षको दिवस पनि देशभर पृथ्वी नारायण शाहको योगदानको स्मरण गर्दै मनाइएको छ ।

तत्कालीन रुपमा अवस्थित टुक्रा–टुक्रामा विभक्त नेपाल र छिन्नभिन्न रहेका नेपालीलाई एकताको सूत्रमा बाँध्ने काम पृथ्वीनारायण शाहले नै गरेका थिए । पुर्खाहरुको धरोहरका रुपमा समेत रहेका उनले नै त्यतिबेलाका बाइसे÷चौबिसे राज्यहरुलाई नेपाल एकीकरणको अभियानमा गाभ्ने क्रममा उल्लेखनीय सफलता पाएको सन्दर्भ अहिले पनि नेपालीहरुका लागि गर्वको विषय बनिरहेको छ । शाहले विशाल नेपालको एकीकरण गर्न तदारुकता नदेखाएको भए नेपाल भन्ने मुलुकको नाम निशाना पनि रहने थिएन । यसैले राष्ट्र निर्माताबाट उसबेला मार्गदर्शन गरेका विचार र बाटोलाई जुनसुकै विचारका राजनीतिक दलले उनको दिव्योपदेशलाई मूल नीति बनाएर त्यसैका आधारमा मुलुकलाई निकास दिने कुरामा सबैको विचार केन्द्रित हुन आवश्यक छ । यसो भयो भने नेपालीहरू सधैं अन्योलग्रस्त रहिरहने अवस्था आउनेछैन । नेपाल अधिराज्यको इतिहासलाई मान्ने हो भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन । इतिहासको जगमा नै आजको वर्तमान अवस्थित रहेको यथार्थलाई भुल्नु भनेको आफ्नो गौरवमय इतिहासप्रतिको असम्मान हो । अहिले देश राजनीतिक अस्थिरताका कारण विखण्डनको अवस्थामा पुग्न लागेका बेला एकिकरणका शुत्रधार पृथ्वीनारायणले दिएका उपदेशहरु अझ सान्दिर्भक बन्दै गएका छन् । यसर्थ वर्तमान परिवेशमा राजनीतिक दलहरुले शाहका उपेशलाई आत्मसाथ गर्दै अगाडि बढ्नुुपर्ने बेला आएको छ । यसतर्फ सबै राजनीतिक दलहरुको ध्यान जाओस् ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update