Shittalpati
फेरि देखियो कोरोना : सतर्कता अपनाऔं

केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो । यसले कोरोनाको पुनरागमन भएको पुष्टि समेत गरेको छ । यो भेरियन्ट पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

नेपालमा पनि यसको संक्रमण देखिएपछि त्रास पैदा भए पनि यसतर्फ सर्तकता भने अपनाइएको छैन् । संक्रमण फैलन नदिन नेपाल–भारत सीमा नाकामा कडाई गरिनुपर्छ तर नेपाल सरकारको यसतर्फ ध्यान नै जान सकेको छैन । खुला सीमाका कारण नेपालमा संक्रमण बढ्न सक्ने भएकाले आवतजावतमा विशेष सतर्कता चाहिन्छ । सतर्कता र सावधानी अपनाउन सके मात्र पनि संक्रमणबाट धेरै हदसम्म जोगाउँछ । केही वर्षअघि कोरोना महामारीको त्रासदी र त्यसले पु¥याएको क्षति कसैले भुलेको छैन । अहिले फेरि नयाँ संक्रमित फेला पर्दै गर्दा सरकार मात्र होइन, आम नागरिक सबै सतर्क हुनुपर्ने भएको छ । भारतमा यसको संक्रमणबाट बिरामीको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा  नेपालले पनि सावधानी अपनाउनुको विकल्प छैन । नयाँ भेरियन्टको संक्रमणले रुघा लाग्ने, खोकी लाग्ने, थकाइ महसुस हुने, घाँटी तथा टाउको दुख्नेजस्ता लक्षण देखिने गरेका छन् । कतिपयमा झाडापखाला हुने गरेको पाइएको छ । यस्ता लक्षण देखिए तत्काल परीक्षण गराउनुपर्छ र अरूसँग घुलमिल हुन छाड्नुपर्छ । पहिले कोरोना महामारी सुरु हुँदै गर्दा उपचार पद्धतिबारे भेउ थिएन, असर कतिसम्म पर्छ भन्ने पनि थाहा थिएन । त्यसैले मानिस आत्तिएका थिए, त्रासमा थिए ।

आफैं संक्रमित भएर कोरोना जितेको अनुभव र खोपका कारण अहिले धेरै मानिसमा आत्मविश्वास बढेको छ । तर हेलचेक्र्याइँ भने गर्नु हुँदैन । भीडभाड हुने स्थानमा मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम राख्ने र हातको सरसफाइमा विशेष ध्यान दिनेजस्ता जनस्वास्थ्य मापदण्ड पालना गर्नुको साथै सरकारले सिमा नाकामा कडाई गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update