Shittalpati
आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने

पाल्पा, आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।

सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जनाइएको छ । पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो । तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो । शनिबार (आज) देखि पहिलो तीन साताको समय सकिँदै छ । आजदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाले जनाएको छ ।

यस अघि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिदै आइएको थियो । गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । अन्यत्र पहाड काटेर पुलहरू धमाधम बने पनि तुइन खोलाको मुग्लिनतर्फको भागमा कडा चट्टान भेटिएपछि आयोजनाले विष्फोट गराएर मात्रै पहाड काट्न सकिने निष्कर्ष निकालेको थियो । तर, खानी तथा टनेलमा काम गर्ने प्राविधिकहरूको स्थलगत अध्ययनपछि प्राविधिकहरुको सल्लाहअनुसार फरक प्रविधिको प्रयोग गरेर यसपटक चट्टान काट्न थालिएको थियो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । 

माघ १ गते भने दिनभर नै खुला रहने आयोजनाले जनाएको छ । माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update