Shittalpati
रामपुर नगर सभाको अधिवेशन : बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित  

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको छ । नगर सरकारले नगर सभाको १४ औँ अधिवेशन समापन गर्दै बजार अनुगमन ऐनसँगै विभिन्न कार्यविधि पारित गरेको हो ।

 नगर सभाका सदस्य तथा विधेयक समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गरेको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायिक समितिको कार्यविधि संशोधन सहित सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । यस्तै  नगर सभाले योजनाको बजेट रकमान्तर, शिर्षकान्तर ऐन तथा कार्यविधि र न्यायिक समितिको कार्य विधि सम्बन्धि ऐन २०७५ संशोधन पनि पारित गरेको छ ।

सभाले वडा तथा नगरस्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गरेको बजेट रकमान्तर र शिर्षकान्तर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले सभामा वेरुजु संपरिक्षण प्रतिवेदन पारित गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँणले बताए ।

अधिवेशनले विभिन्न समिति सर्वसम्मत रुपमा चयन समेत गरेको छ । सभाले तेजबहादुर रानाको संयोजकत्वमा ५ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा मदन खाँण ठकुरी, हरिनाथ ढुंगाना, कमला देवि रुचाल र नरेन्द्र कुमार जर्घा रहेका छन् । यस्तै मिनबहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति गठन गरिएको छ । सदस्यमा विष्णुमाया गैरे, मोहमद अजिम शेख, सुमित्रा वर्मेली सार्की र नारायण चन्द ठकुरीलाई चयन  गरेको नगर सरकारका प्रेस सल्लाहकार दानुु हिस्कीले बताए । यसैगरी मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरिएको छ । जसको सदस्यमा युवराज शाही, थममाया नेपाली दर्जी, मिठ्ठुमाया सुनार र गोपबहादुर राना रहेका छन् । सभामा नगर प्रवक्ता कपिलबहादुर खाँणले विद्यालयको अनुगमनको शिर्षक प्रष्ट उल्लेख सहित संशोधन माग गर्दै सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरेका थिए । सभामा उठेका प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले हरेक योजना तथा ऐन कार्यान्वन गर्दा विधि संवत रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरको समुचित विकास र समृद्धिका लागि बजेटको कार्यान्वयन र पारदर्शीतामा सबैले ध्यान दिन आवश्यक रहेको समेत बताए । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आह्वान पत्र बारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update