Shittalpati
रूघाखोकी भनेर बेवास्ता नगरौं

मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ । श्वासप्रश्वास प्रणालीको माथिल्लो भागको भाइरल संक्रमणलाई आम रूपमा रुघाखोकी भन्ने गरिन्छ । सयौं खालका भाइरसका कारण हुनसक्ने रुघाखोकी आफैं निको हुने वा संक्रामक हुन्छ । चिसो मौसममा बढ्ता देखिने रुघाखोकी प्रत्येक पटक नयाँ खालका भाइरसका कारण हुन्छ । प्रतिरोधात्मक क्षमताको अभावमा पटक–पटक लाग्छ । किशोर र वयस्कलाई भन्दा बालबालिका र वृद्धवृद्धालाई धेरैचोटि रुघाखोकी लाग्नुको कारण प्रतिरोधात्मक क्षमताको कमी नै हो । रुघाखोकीमात्रै होइन रुघाखोकीसँगै एलर्जी पनि हुन्छ । शरीरले एक्कासी चिसो सहन सक्दैन, जसले गर्दा जाडो समयमा भाइरसको किटाणु अलि बढी लाग्ने गर्छ । जाडोमा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई भाइरलले अलि चाडो आक्रमण गर्छ । रुघाखोकीलाई सामन्य रुपमा लिने गरिन्छ तर यसको उपचारमा ध्यान दिएन भने ठूलो समस्या निम्त्याउने कुरालाई भने नकार्न सकिदैन । 

रुघाले नाकलाई मात्रै अप्ठ्यारो पारेको हुँदैन् यसले कानमा पनि समस्या पार्छ । कानको सुन्ने शक्तिमा समेत अप्ठ्यारो पार्न सक्छ । रुघाखोकी लाग्दा ज्वरो आउने, खानेकुरा निल्न गाह्रो हुने अनि ज्यान करकर खाने हुन्छ । बिरामी गम्भीर वा निमोनियाँ भएपछि मात्र अस्पताल पुग्ने गर्दछन्रु। यसो गर्नु राम्रो होइन । मानिसले अन्य रोग भन्दा रुघाखोकीलाई सामान्य रुपमा लिने गर्दछन् । सामान्यतया बूढाबूढी, केटाकेटी, दम, श्वासप्रश्वास समस्या भएका, मधुमेह, मुटु, कलेजो र स्नायु रोग लागेका, अंग प्रत्यारोपण गराएकालाई यस्तो संक्रमण हुने बढी खतरा हुन्छ । त्यसैले जोखिममा रहेका समूहहरू बढी सचेत रहन आवश्यक छ । युवालाई उस्तो नसताए पनि संक्रमण सार्न उनीहरूको पनि भूमिका हुन्छ । अन्य रोग जस्तै रुघाखोकीलाई पनि कम आँक्नु हुँदैन । संक्रमणले छोएको थाहा हुनासाथ डाक्टरको परामर्श लिनुपर्छ । भने अनुसारको उपचार गर्नुपर्छ । रुघाखोकीलाई बेवास्ता गर्नु हुँदैन । बेलैमा उपचार नथाले जटिलता थपिन सक्छ । समयमै औषधि उपचार गरे सहजै निको हुन्छ । सामान्य रुघाखोकी भाइरसको कारण हुने हुनाले यसको लागि ब्याक्टेरिया विरुद्ध दिइने एन्टिबायोटिक्स् (प्रतिजैविक) औषधि चाहिंदैन । तर रुघाखोकीका कारण सास फेर्न गाह्रो हुँदै जाने, तारन्तार बान्ता हुने, छाती दुख्ने, पाकेको खकार आउने, छटपटी हुने जस्ता समस्याहरु पनि देखिन सक्छन् । त्यस्तो अवस्थामा रुघाखोकीलाई सामन्य रुपमा लिइनु हुँदैन । त्यस्तो समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिई आवश्यक उपचारविधि अपनाउनु बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update