Shittalpati
राजनैतिक चिन्तन र लोकतन्त्र

राजनैतिक रुपमा देखिएका कतिपय समस्याहरुको समाधानका लागि विभिन्न प्रयास सुरु भएका छन् । मुलुकले आशा गर्ने कुराको चुरो नपाएका कारण पनि समस्याहरु घट्ने भन्दा पनि थपिने क्रम जारी रहेको महशुस भएको देखिन्छ । राष्ट्रियसभाको मनोनयनसंगै नयाँ राजनैतिक समीकरणका गफगाफ पनि शुरु भएका छन् । प्राप्त गफगाफले मात्रै समस्याको समाधान सम्भव होला नहोला तर वर्तमान अवस्थामा देखिएका कतपय समस्याहरुको समाधानका लागि प्रयास सुरु हुन्छन् कि भन्ने आशाहरु बलिया हुँदै गएका छन् । नेपाली राजनैतिक वृतले गठवन्धन संस्कृतिको अन्त्यका लागि खोजेको के र कस्ता विषयवस्तु हुन् भन्ने कुराको छिनोफानो नलाग्दासम्म देशले निकास पाउँदैन कि भन्ने चिन्ता र चासो सबैमा विकसित हुँदै गएको छ भन्ने आभाष चाहीँ भइरहको महशुस भएको छ ।

नेकपा एमाले र काँग्रेस बीच केही हदसम्म मेलमिलाप हुन्छ कि भन्ने अवस्था श्रृजना हुनै लागेका बेला, गतसाता भारतीय विदेशमन्त्रीको नेपाल आगमनसँगै त्यो तार चुडाल्न बाध्य बनाइयो । सरकारका सहयात्री दलहरु बीच भएका गठवन्धनले परिणाम दिन सकेन भन्ने चिन्ताका बीच फेरि अर्को नयाँ राजनैतिक मेलमिलापको शैली शुरु हुने कुरामा धेरैले आशा गरेका थिए तर त्यो सम्भव भएन । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने काममा यहाँका पुरानादलहरु एक ठाउँमा नहुँदासम्म केही नयाँ र पृथक विचार लिएर जन्मिएका दलहरुले लोकतन्त्रकै विकल्प, अर्कै तन्त्रलाई स्थापित गर्न खोजिरहेको अनुभूति हुँदा हुँदै पनि एमाले, काँग्रेस र माओवादी एक अर्का बीच कटाक्षपूर्ण शैलीबाट अगाडि बढ्नुको अर्थ लोकतन्त्रलाई स्थागत हुन नदिने खेल पनि हुन सक्छ । लोकतन्त्रको विकल्प संस्थागत लोकतन्त्र बाहेक केही पनि हुन सक्दैन । दलहरुको विकल्प पनि दल नै हुने हुँदा भोलि लोकतन्त्र समाप्त पार्ने ध्येयका साथ स्थापित भएका कतिपय राजनैतिक मुकुण्डोधारी दलहरु जो व्यवस्था प्रति नै लक्षित हिसावले लागेका छन्, उनीहरुलाई लोकतन्त्रको परिधी र परम्परा सिकाउनका लागि पनि अहिले यी ठूलाहरु आफुले निर्माण गरेको संविधान कार्यान्वयमा एकसाथ हुनुको विकल्प छैन । त्यसकारण अब विवाद र झै–झगडा भन्दा पनि मेलमिलाप र राजनैतिक एजेण्डालाई आ–आफ्ना पोल्टामा सुरक्षित राखेर देश र संविधान अनि बलिदानी इतिहासका कारण प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नु नै आजको आवश्यकता हो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update