Shittalpati
स्वदेशमै रोजगारका अवसर सिर्जना गरौं 

नेपाल अहिले युवाहरू निर्यात गर्ने मुलुकका रूपमा विश्व बजारमा चिनिएको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी उनीहरूको ज्ञान र सीपलाई विकास निर्माणमा लगाउन राज्यले सकेको छैन । नेपालमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने हो भने अधिकांश युवा विदेशिने थिएनन् । हाम्रा गाउँ–बस्तीहरू युवाविहीन बन्दै गएका छन् । काम गर्ने जनशक्तिको अभावमा हाम्रा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन् । विगत दुई दशकदेखि विभिन्न देशसँग सम्झौता गरी युवालाई कामदारका रूपमा पठाउने गरिएको छ । हरेक दिन १५ सयको हाराहारीमा युवाहरू रोजगारीका लागि विदेशिएका छन् । गाउँ घर वृद्वभत्ता लिने जेष्ठ नागरिक र नाति नातिना पुस्ताका बालबालिकाको बस्तीका रूपमा परिणत भएका छन् । यो अत्यन्त दुखको कुरा हो । सरकारले स्वदेशमै सम्भावना छ भन्दै आए पनि अवस्था त्यस्तो छैन् । शुक्रबार पाल्पाको रामपुरमा आयोजित एक कार्यक्रममा समेत सरकारका अर्थमन्त्री प्रकाशसरण महतले स्वदेशमा प्रसंस्त सम्भावना भएकाले विदेश नजान युवाहरुलाई आग्रह गरे । तर उनले भाषाणमा भने जस्तो देशमा त्यस्तो अवस्था छैन । जसका कारण युवाहरु विदेश जान बाध्य छन् । विदेशीनुु उनीहरुको रहर हैन बाध्यता हो । यो कुरा सरकार किन बुझ्न नसकेका हो ? रोजगारीका अवसर सिर्जना नगर्ने तर देशमै सम्भावना छ विदेश नजाऊ भन्नु उचित होइन ।

राजनीतिक निराशाले मुलुकको सबै क्षेत्रलाई छोएको छ । मुलुकको अर्थतन्त्र कमजोर भए पनि यसले गति लिँदै छ भन्ने आशा जगाउन नसकेको र सुदूर भविष्यसम्म पनि त्यस्तो संकेत नदेखिएकाले युवाहरू आफ्नो भविष्य नेपालमा देखिरहेका छैनन् । त्यो आशा जगाउने काम सरकार र राजनीतिक नेतृत्वको हो । तर, सरकारी कार्यशैलीले युवामा निराशामात्र होइन, वितृष्णासमेत जगाइरहेको छ । त्यस्तोमा विदेश जानु नै उनीहरूको विकल्प बनेको हो । अभिभावकले पनि आशा गुमाइसकेकाले युवालाई रोक्न नसकेको वा नखोजेको अवस्था छ । आशा जगाउने आधार भनेको सुशासन हो । सुशासन भएमा नै उद्योग मैत्री वातावरण बन्छ । सुशासनमा नै उद्योग व्यवसाय फस्टाउन सक्छन् र तिनले रोजगारी सिर्जना गर्न सक्छन् । तसर्थ देशमै रोजगारीको अवसर सिर्जना गर्नतर्फ राज्य जिम्मेवार बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update