Shittalpati
देशभर चिसो बढ्यो

पाल्पा,छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ ।  नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको  छ । पहाडका केही क्षेत्रमा मधुरा घाम लागेको र चिसो अत्याधिक बढ्दै गएको महसुस गरिएको छ ।

देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन  समेत जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले तापक्रम  घट्दै गएकाले चिसो बढेको जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद्हरुले जनाएका छन् । जुम्लामा सबैभन्दा धेरै तापक्रम घटेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसो बढेपछि  तराइका जिल्लाहरुमा जेष्ठ नागरिक, न्यानो कपडाको कम पहुँच भएका समूहलाई लक्षित गरी सामूहिक आगो ताप्ने व्यवस्था मिलाइएको छ । जेष्ठ नागरिक, बालबालिका, विपन्न वर्ग र न्यानो कपडा र वासस्थानमा पहुँच नपुगेका व्यक्ति÷समूह प्रभावित हुन सक्ने र रोगको जोखिममा रहन सक्ने भन्दै ठाउँ ठाउँमा स्थानीय प्रशासनको अनुरोधमा आगो ताप्ने व्यवस्था मिलाइएको हो । 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update