Shittalpati
मेलमिलाप दिवसको औचित्य

पुस १६ गते अर्थात् नेपाली काँग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन ।  काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गर्दछन् । यस वर्ष पनि सोमबार यो दिवस मनाइएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिएको हो । देशभर कार्यक्रमहरु भएपनि दिवस औपचारिकतामै सिमित बन्न पुगेको छ । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहे पनि अहिलेका नेताहरुले यसको अनुसरण भने गर्न सकिरहेका छैनन् । विशेषतः काँग्रेसले बीपीको नीतिलाई आत्मसाथ गर्नुपर्ने भएपनि त्यसो गर्न नसकेको काँग्रेस भित्रै गुनासो छ । काँग्रेसले मात्र हैन अन्य दलका नेताहरुले पनि बीपीको मेलमिलाप नीतिको अनुसरण गर्नुपथ्यो तर त्यसो गर्न सकेका छैनन् ।

बीपीको राष्ट्रवादलाई आधार बनाएर प्रजातन्त्र प्राप्त गर्ने र प्रजातन्त्रलाई आधार बनाएर राष्ट्रियतालाई अझ बलियो बनाउने नीति नै मेलमिलापको नीतिको सार थियो । तर नेताहरु यी कुराहरुबाट चुकेका छन् । राष्ट्रियता, काँग्रेसको स्थापनाकालीन प्रमुख राजनीतिक अडान र सिद्धान्त भएपनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसक्नु दुखद् हो । राष्ट्रिय मेलमिलापको नीति काँग्रेसको एजेण्डा भएकाले पुरानो र ठूलो पार्टीको कारण राष्ट्रिय मेलमिलापको नीतिलाई नेपाली कांग्रेसले एक पटक गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । साँच्चै बीपीको मेलमिलापको नीतिलाई साकार पार्ने हो भने हिजोको जस्तो मेलमिलापको सन्दर्भ त आज नहोला तर पनि आन्तरिक लोकतन्त्रमा मेलमिलापको सन्दर्भ टड्कारो देखिन्छ । काँग्रेसले आन्तरिक लोकतन्त्र मजबुत पार्नु पार्छ । लोकतान्त्रिक पार्टी हचुवामा चल्नु हास्यास्पद मानिछ । यसर्थ काँग्रेसले भाइचारा सुदृढ, भातृ र शुभेच्छुक संस्था गतिशील बनाउन सके पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउनुको औचित्य रहन्छ । 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update