Shittalpati
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

बुटवल, लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । सरकार गठन भएको ८ महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो ।  मुख्य मन्त्री चौधरीले बाँकेको निर्वाचन क्षेत्र नं. १(१)बाट निर्वाचित माओवादी केन्द्रकी कृष्णा केसी र प्यूठानको निर्वाचन क्षेत्र १(२)बाट निर्वाचित काँग्रेसका सरोज थापालाई मन्त्री मनाएका हुन् । 

माओवादी केन्द्रकी  केसीलाई सहरी विकास र प्यूठानका थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी दिइएको छ ।  उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका छन् । वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा काँंग्रेसभित्र संस्थापन इतर पक्षधर नेता शेखर कोइराला र गगन थापाले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रेम पाठकलाई मन्त्रीमा अघि सारे पनि मुख्यमन्त्री चौधरीले एकलौटी रुपमा मन्त्री थपेको काँग्रेस भित्रकै नेताहरुको भनाई छ । 
 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update