Shittalpati
तानसेनमा क्रिसमसको रौनक

पाल्पा, पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्‍याली निकालेका छन् । उनीहरुले तानसेनको टुँडिखेलबाट नगर परिक्रम गर्दै पुन टुँडिखेलमै पुगेर र्‍याली विर्सजन गरेका थिए । इसाई धर्मावलम्बीले खुसियाली, उपहार र शुभकामना साटासाट गरी यो चाड मनाउने गर्दछन् । र्‍यालीमा स–साना बालबालिकादेखि वृद्धहरु समेत उत्साहका साथ सहभागी भएका थिए । उनीहरु गीत गाउँदै, नाच्दै एक आपसमा सुुखीयाली साटेको देखिन्थो । सोमबार मनाईने क्रिसमस डेको अवसर पारेर सद्भाव र्‍याली निकालिएको तानसेनस्थित गोसेन चर्चका दिक्कन थर्कबहादुर बगालेले बताए । उनका अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्परा अनुसार सद्भावना र्‍याली निकाल्ने गरिएको हो । 

र्‍यालीमा तानसेनका १० वटा चर्चहरुबाट इसाई धर्मावलम्बीहरुको व्यापक सहभागीता रहेको धन्यवाद सामुुदायिक चर्चका एल्डर मिनबहादुर जर्घाले बताए । उनका अनुसार सोमबार क्रिसमस डे पर्वको भव्य तयारी भएको छ । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएका थिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले यो पर्व मनाउने गर्दछन् । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान प्रदान गरिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update