Shittalpati
देशभर अझ चिसो बढ्ने

पाल्पा, देशभर दिन प्रति दिन चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले शनिबारदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

विभागले देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महशुस गरिएको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ र जोमसोममा माइनस तीन दशमलव पाँच तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । पुस ७ गते आज प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।

चिसोले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुने गरेका छन् । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार, छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ । जाडो मौसम सुक्खा हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update