Shittalpati
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ

पाल्पा,  नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् । विहीबार तानसेनस्थित पार्टी कार्यालयमा सम्मेलनको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले प्रथम जिल्ला सम्मेलनको मुख्य उद्देश्य र दृष्टिकोण भनेकै ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ रहेको बताएका हुन् । 

विगतमा भेला हुने भए पनि यस पटक वृहत्त सम्मेलन हुन लागेको र सम्मेलन ऐतिहासिक रहने उनले बताए । सभापति श्रेष्ठले भने ‘पाल्पाको विकास, समृद्धिका लागि हाम्रो सम्मेलन केन्द्रित रहन्छ ।’ राजनैतिक दस्तावेजमा ‘समुन्त पाल्पा,सम्मानित पाल्पाली’ भन्ने नारा साकार पार्नका लागि पाल्पाको शिक्षा, स्वास्थ्य, कुटीर उद्योग, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सोंचलाई अगाडि बढाएर पार्टी एकताको महत्वपूर्ण सन्देश दिइने पनि उनले बताए । सम्मेलन विधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो हुने समेत सभापति श्रेष्ठको भनाई छ । 

 यही मंसिर ३०  गते हुने  सम्मेलनका लागि ३ सय १ सदस्य मूल समारोह समिति  र १७ वटा उपसमिति गठन गरि तयारी पूरा भएको  बताइएको छ । सम्मेलनमा राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन प्रस्तुत र कार्यान्वयनमा जोड दिइने सभापति श्रेष्ठले बताए । उनका अनुसार सम्मेलनमा नेपाली काँग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगायतका विशिष्ट व्यक्तिहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनमा जिल्लाका ८१ वडाका क्षेत्रिय प्रतिनिधि, १० वटै पालिकाका पदाधिकारी, पर्यवेक्षकहरुको समेत सहभागिता रहने हुदाँ यो सम्मेलन ऐतिहािसक हुने सभापति श्रेष्ठले बताए । सम्मेलनमा पूर्व सभापति, जिल्लाबाट पार्टीलाई विभिन्न क्षेत्रबाट योगदान गरेका व्यक्तित्व र अक्षकोषदाताहरुलाई सम्मान गरिने, वर्तमानमा देखिएको आर्थिक संकटलाई मध्यनजर गरी मितव्यायी र कम खर्चमा सम्मेलन गर्ने गरी कार्यक्रम अगाडि बढेको काँग्रेसले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सम्मेलन सफलताको कामना गर्दै काँग्रेस भित्रको गुट उपगुटको अन्त्य गर्न सम्मेलन महत्वपूर्ण बन्नेमा विश्वास व्यक्त गरे ।  कार्यक्रममा पत्रकारहरुले सम्मेलनमार्फत वर्तमान सन्दर्भमा काँग्रेसको कमजोर अवस्था, कार्यकर्तामा छाएको निरासाको समीक्षा र पार्टीलाई गुट उपगुट अत्यन्त गर्न केन्द्रित गर्न सुझाव दिएका थिए । सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सन्तोष थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update