Shittalpati
भ्रष्टाचारको जन्जिर तोडौं 

हरेक वर्षको डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । शनिबार नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरे पछि विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । भ्रष्टाचार अन्त्यका लागि हरेक वर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन । बरु झन् मौलाउदै गएको छ । सरकारी, सार्वजनिक तथा निजी क्षेत्रहरू भ्रष्टाचारको दलदलमा छन् । जसले गर्दा मुलुकको विकास र समृद्धिले फड्को मार्न सकिरहेको छैन । भ्रष्टाचार रोक्न महामानवरूपी शासक चाहिएको छ तर, विडम्बना नेपाल र नेपालीले त्यस्ता असल शासकहरू पाउन सकेका छैनन् ।

भ्रष्टाचारले गर्दा जनतामा चरम नैरास्य छाएको छ । भ्रष्टाचार कुनै मुलुक विशेषको मात्रै नभई यो अन्तर्राष्ट्रिय समस्या बनेको छ । आर्थिक र सामाजिक विकासमा ठूलो बाधक देखिएको छ । कमबेसी मात्र हो, भ्रष्टाचार धनी तथा गरिब दुवै खालका मुलुकमा विद्यमान छ । त्यसैले पनि भ्रष्टाचार विरुद्धको लडाइँ विश्वको चासो र सरोकारको विषय बनेको छ । विशेषगरी भ्रष्टाचारले गरिब र विपन्न नागरिकलाई बढी मात्रामा प्रभाव पारेको छ । भ्रष्टाचारले मुलुकमा राजनीतिक अस्थिरता बढाउनुका साथै लामो संक्रमणकालबाट गुज्रिएका मुलुकमा गरिबी झन् बढेको देखिन्छ । पछिल्लो समयमा त भ्रष्टहरूले सूचना प्रविधिलाई समेत दुरुपयोग गर्ने हैसियत बनाइसकेका छन् । क्षणभरमै राष्ट्रको ढुकुटी रित्तिन सक्ने अवस्था आएको छ । नेपाल विश्वको अत्यधिक भ्रष्टाचार हुने मुलुक मध्येमा पर्छ । भ्रष्टाचार अन्त्य गरिनुुपर्नेमा राजनीतिक दलहरु एक हुन्छन् तर, उनीहरु मध्येकै बहुसंख्यक भ्रष्टाचारी छन् । यो अत्यन्त दुखको कुरा हो । भ्रष्टाचारीलाई सामाजिक बहिष्कारको प्रचलन छैन् । जसले गर्दा उनीहरुले झन प्रश्रय पाईरहेका छन् । दैनिक जसो रुपमा देशमा भ्रष्टाचार हुुने गरेका घटनाहरु बाहिर आएका हुुन्छन् तर तिनीहरुलाई सशक्त रुपमा कारवाही हुुन सकिरहेको छैन् । सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने हो भने भ्रष्टाचार रोक्नलाई कुनै समस्या छैनन् । घुस माग्नेहरुबाट नै सजग हुने हो भने केही हदसम्म भए पनि भ्रष्टाचार कम गर्न सकिन्छ । भ्रष्टाचार विरुद्ध हरेक नागरिक सचेत बनौ, गाउँपालिका र नगरपालिकाहरुमा विकास निर्माणको लागि छुट्याइएको बजेटको दुरुपयोग हुनबाट जोगाइ सहि ठाउँमा सदुपयोग गरौं । तसर्थ भ्रष्टाचारमुक्त समाज निर्माण गरी देशको विकास र समृद्धिका लागि भ्रष्टाचारको जन्जिरलाई तोड्न सबै एक जुट बनौं ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update