Shittalpati
रुसी सेनामा कार्यरत पाल्पाका  पौडेल सम्पर्कविहिन  

पाल्पा,  रुसी सेनामा कार्यरत पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रुगका  विष्णुबहादुर पौडेल सम्पर्कविहिन भएका छन् । एक महिना अघि रुसी सेनामा भर्ना भई युक्रेन सिमानाको युद्धमा खटिएका पौडेल एक हप्ता देखी परिवारबाट सम्पर्कविहिन भएका हुन् । 

सम्पर्कविहिन पौडेल विरामी भएपछि युक्रेन सिमा नजिकै अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको भाइ प्रदिप पौडेलले बताए । अस्पतालमा फोन सम्पर्क गर्न नपाउने अवस्थामा विरामी परेका पौडेलले लुकेर घरपरिवारमा समय–समयमा सम्पर्क गरे पनि एक हप्तादेखी कुनै सम्पर्क नभएको भाइ पौडेलको भनाई छ । उनले दाईको उद्धार गरिदिन नेपाल सरकारसँग आग्रह समेत गरेका छन् । 

श्रीमानले अस्पतालबाट सम्पर्क गरे पनि कुन अस्पतालमा भर्ना भएको हो भन्ने बारे जानकारी दिन नसकेको निजकी श्रीमति सुमित्रा रायमाझी पौडेलले बताईन । विष्णु गएको  असोज २९ गते नेपालबाट रुस गएका थिए । रुस गएको केही समयपछि नै उनी रुसी सेनामा भर्ना भएका थिए । रुसमा बैदेशिक रोजगारमा नजान अनुरोध गरे पनि विभिन्न एजेन्टको माध्यमबाट श्रीमान रुस पुगेको श्रीमति सुमित्राले बताईन ।  ३ नोभेम्बर २०२३ मा  विष्णुलाई रुसी सेनामा भर्ना भएको नियुक्ति पत्र दिइएको थियो । त्यसपछि उनलाई युक्रेनमा सीमामा खटाइएको थियो । उनलाई  दिइएको नियुक्ति पत्रमा रुसी राइफल म्यानको जिम्मेवारी दिइएको छ । पौडेललाई रोस्टभ रिजनको पेरसिअनोस्कि गाउँमा खटाएको नियुक्तिपत्रमा उल्लेख गरिएको श्रीमती सुमित्राले बताईन । श्रीमानलाई उद्धार गरी स्वदेश फिर्ता गरिदिन श्रीमती सुमित्राले  पनि सरकार र नेपाली दुतावासलाई अनुरोध गरेकी छन् ।

युक्रेन सिमामा हिउँ परेको अत्याधिक चिसोको कारण विष्णुलाई छाती दुख्ने, तथा फोक्सोमा समस्या आएपछि अस्पताल भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ । ‘अस्पतालबाट लुकि छिपि समय–समयमा छोटो छोटो कुराकानी भएको थियो ।  एजेन्टमार्फत  रुसी सेनामा भर्ना भए पनि श्रीमानले रुसी सेनाबाट छुटकारा पाई नेपाल फर्किने इच्छा देखााउनु भएको थियो, भाग्न मिल्ने अवस्था छैन, २० बर्ष कैद हुन्छ जे जसरी हुन्छ पहल गरिदिन अनुरोध गर्नुभएको थियो तर  एक हप्ता देखी  सम्पर्कमै हुनुहुन्न’ श्रीमती सुमित्राले  भनिन् । पौडेल नेपाली सेनाको जागिरबाट ३ बर्ष अघिमात्र  अवकाश पाएका थिए ।  पौडेल वैदेशिक रोजगारीकै सिल सिलामा  विभिन्न एजेन्टमार्फत रुसमा पुगेका हुन । पौडेलकी श्रीमती रैनादेवी छहरा वडा नंं ३ भुवनपोखरीमा बस्दै आएकी छन । पौडेलका एक छोरा एक छोरी रहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update