Shittalpati
यसरी हुन्छ संस्थागत अनियमितता 

पाल्पा,  गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ । यसरी संकलन गरिएको गैरकानुनी रकम कहाँ ? कसलाई बाडिन्छ ? भन्ने विषय रहस्यमै छ । 

मादक पदार्थ सेवन,लाईसेन्स,ब्लुबुक, सिट पास, लोड, गाडीको अवस्थाको चेक जाँच गर्ने नाममा प्रहरीले ठूलो रकम असुल गर्ने गरेको व्यवसायीहरुको गुनासो छ । ट्राफिक नियम मिच्नेलाई नियन्त्रण गर्नु पर्नेमा प्रहरी संगठनकै सेटिङमा ‘मासिक असुली’ गरेर छुट दिने गरेको स्रोतको दावा छ । गैरकानुनी तरिकाले गाडी चालक र व्यवसायीहरुबाट संस्थागत रुपमा मासिक मोटो रकम लिने गरेको गुनासो पिडितहरुको छ । ग्रामीण र शहरी क्षेत्रमा सञ्चालन हुने एक हजार दुई सय भन्दा धेरै सार्वजनिक सवारीका साधन र केही रिजर्वमा चल्ने रातो नम्वर प्लेटका सवारी साधन, खानीका टिपरले आ–आफ्ना जिल्लामा ‘नजराना’ नदिदा बाटोमै छोपिन्छन् र कतिपय त फिर्ता पनि पठाईन्छन् । 

यस क्षेत्रका श्रीनगर यातायात, पश्चिाञ्चल यातायात, गुल्मी यातायात, रुरु रेसुङ्गा यातायात लगायतका  कतिपय यातायात कम्पनीहरुले संस्थागत र व्यक्तितगत रुपमा पाल्पा र गुल्मीका प्रहरीलाई  हरेक वर्षका ठूला चाडपर्वहरुमा बर्षेनी झक्कले बोका र ‘नजराना’ दिनुपर्ने बाध्यता समेत रहेको पिडितको गुनासो छ । यस्ता गुनासाहरु आएपछि शित्तलपाटी डटकमको टीमले त्यसको खोज अनुसन्धान गरेको थियो । अनुसन्धान गर्ने क्रममा लहरो तान्दा पहरो थर्कने अवस्था आएको छ । यस्तो गतिविधिमा जिल्लाका प्रहरी प्रमुखदेखि प्रदेशसम्मका प्रहरी अधिकृतको समेत संलग्नता हुन सक्ने आशंका गरिएको स्रोतको भनाइ छ । सालझण्डी पटौती हुँदै ढोरपाटनसम्म चल्ने गुल्मी–अर्घाखाँची जोड्ने राजमार्ग, गुल्मीको वामी, रिडी, ढोरपाटन सडकका विभिन्न चेक पोष्ट, तम्घास सडकका चेकपोष्ट,अर्घाखाँचीको पटौती,गरुसिंगे,सन्धिखर्कका विभिन्न चेकपोष्ट, पाल्पाको माथागढी, रैनादेवी छहरा, दोभान, रामपुर, राम्दी, मुझुंग लगायत दर्जनौ चेकपोष्ट र प्रमुख नाकाहरुमा मासिक रुपमा  गैरकानुनी रकम असुली हुने गरेको स्रोतले जनाएको छ । पिकअप जिप ,भाडाका सवारी साधन अनि टिपर र केही ढुवानीका साधनहरुसँग ट्राफिक प्रहरीको सहयोगमा रकम संकलन हुने गरेको फेला परेको छ ।  रकम संकलनमा जुट्ने प्रहरी स्रोतले भने आफुहरुले माथिको आदेश अनुसार काम गर्ने गरेको तर कसलाई, कसरी रकम जान्छ भन्ने विषय थाहा नभएको  खुलासा गरे । 

शित्तलपाटी डटकमको टिमले निरन्तर यस विषयमा निगरानी गर्दै जाँदा पाल्पाका दोभान, माथागढी, मुझुंग, हार्थोक लगायतका चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा ब्लुबुक भित्र केही रकम राखेर खुसुक्क दिने र मुसुक्क हाँसेर जाने गरेको समेत देख्न सकिन्थ्यो । कतिपय स्थानमा टिपर चेकजाँच गर्ने क्रममा फोन आउँने र त्यसपछि छोड्ने गरेका दृश्य समेत देख्न सकिन्थ्यो । टिपर रोक्दाको अवस्थामा टिपर धनीले प्रहरीलाई फोन गर्दै ‘हामीले महिनावारी दिएका छौ ? किन दुःख दिएको, आवश्यक परे माथि फोन गर्नु’ भन्ने गरेका संवादहरु समेत सुन्न सकिन्थ्यो । यस्ता गतिविधिहरुले समेत प्रष्ट हुन्छ कि तलदेखि माथि सम्मकै मिलेमतोमा अनियमिता हुने गरेको हो । 


यसरी उठाइन्छ रकम  

 रुपन्देही र पाल्पामा यसरी उठाइएको रकम प्रति महिना पाँचदेखि सात लाख संकलन हुने गरेको स्रोतको दावा छ । रकम तलदेखि माथि सम्मका प्रहरी अधिकृतहरु समक्ष पुग्ने गरेको छ । नाम गोप्य राख्ने सर्तमा स्रोत भन्छ ‘रकम बाडफाँडका क्रममा बनाईएको खेस्रा टिपोर्ट लैजानुस्, तर हाम्रो नाम थाहा हुनु भएन ।’ बेला–बेलामा आउने चाडपर्व र अन्य विशेष कार्यक्रममा खर्च प्रयोजन गर्ने प्रचलनलाई समेत उछिनेर  दिन दहाडै पैसा उठाई रहेका केही आधारहरु समेत फेला परेका छन् । यी सबै कामका लागि जिल्लाका सादा पोशाकका घुमुवा प्रहरी र ट्राफिकको व्यापक प्रयोग हुने गरेको पिडितको गुनासो छ ।  

यस्तै गुल्मीको वामी क्षेत्रबाट सबै भन्दा धेरै रकम संकलन हुने गरेको छ । रिडी रुद्रवेणी हुँदै  बाग्लुंगका सीमा क्षेत्रका चेकपोष्टमा स्थानीय प्रहरीले खुल्लम खुल्ला सवारी साधनहरुसँग माथिको हवाला दिएर रकम उठाउँने गर्छन् । मुसिकोटको वामीटक्सारका एक यातायात व्यवसायीका अनुसार रातो प्लेट र पिकअपलाई सवारी बोक्ने कार्य रोक्न पटक–पटक अनुरोध गर्दा समेत प्रहरीले आर्थिक प्रलोभनमा परेर त्यत्तिकै छोड्ने गरेका छन् । रिडीचौकी र शान्तिपुरको इलाका प्रहरी कार्यालयबाट मासिक यति रकम संकलन गरेर ल्याउँनु भन्ने जिल्लाको निर्देशन हुने गरेको बलियो स्रोत पत्ता लागेको छ । जसका कारण पनि प्रहरी नै यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइन्छ ।  प्रहरी उच्च अधिकृतले नै यसो गर्नु, उसो गर्नु भनेर दिएको निर्देशनको फोन रेकर्ड सम्म हाम्रो टिमलाई प्राप्त भएको छ । गुल्मी जिल्लामा प्रत्येक महिना तीन लाखदेखि पाँच लाखसम्म रकम संकलन हुने गरेको छ । 

कहाँ–कहाँ पुग्छ रकम

स्रोतका अनुसार यसरी संकलन गरिएको रकम अत्यन्तै गोप्य बाँडफाँड हुने गरेको छ । प्रहरी प्रमुख र विभिन्न तहसम्म पुग्ने गर्दछ । यस्तो रकम प्रत्येक महिनाको दोस्रो साता भित्र बाडफाँड हुने गरेको छ । 

यसो भन्छन् प्रहरी प्रमुखहरु  

लुम्बिनी प्रदेश ट्राफिक प्रमुख कृष्ण पछाईले गुनासका विषयमा बुझ्न खोज्दा आफुहरुले मातहतका निकायहरुलाई त्यस्तो गलत निर्देशन  नदिने र नदिएको बताए । उनले भने ‘ यी सबै  झुटा आरोप हुन हामी त्यस्तो गर्दैनौं र गर्न दिदैनौं ।’  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले भने जिल्लामा त्यस्ता खालका गतिविधि नभएको दावी गरे । उनले भने‘प्रहरीले चालकबाट  गैरकानुनी रुपमा रकम असुल गर्दै गर्दैनन् म भन्दैन, तर केही प्रहरीहरुबाट त्यस्तो हुन सक्छ, पाल्पाको हकमा अहिलेसम्म त्यस्तो प्रमाण सहित रकम असुल गरेको पाइएको छैन् ।’ प्रमुख शर्माले कुनै पनि प्रहरीबाट त्यस्ता गतिविधि भएको प्रमाण फेला परे तत्काल कानुनी कारवाही गर्ने प्रतिवद्धतासहित स्पष्ट पारे ।   जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीनकिशोर प्रधानले भने ट्राफिक प्रहरीले गरेको गैरकानुनी कामको जवाफ आफुले दिन नसक्ने तर सिभिल प्रहरीले त्यस्ता गतिविधि गरेको भएको प्रमाणसहित ल्याएमा तत्काल विभागीय कारवाही गर्ने बताए । उनले अहिले सम्म आफु र आफ्ना कुनै पनि युनिटले त्यस्तो  गैरकानुनी रकम नलिएको दावी गरे । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update