Shittalpati
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै छ । हरेक डिसेम्बर ८ मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ । दक्षिण गोलाद्र्धीय मर्यादित महिनावारी सञ्जालको पहलमा सन् २०१९ देखि यो अभियान मनाइँदै आएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर–१० डिसेम्बर) कै अवसर पारेर हरेक वर्ष ८ डिसेम्बरमा यो दिवस मनाउन लागिएको हो ।

महिनावारीका विषयमा सरसफाइको दृष्टिकोणबाट बहस छलफल भए पनि महिनावारीका कारण किशोरी÷महिलामाथि गरिने विभेद, लाञ्छनाहरु हुने गरेका छन् । त्यसलाई रोक्नका लागि पनि यो दिवस महत्वपूर्ण हुने गर्दछ । यस वर्षको नारा ‘बालविवाह र यौनजन्य हिंसाको अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने रहेको छ । महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो । महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया यो । प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भएपनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा त्यहाँका संस्कृति र सामाजिक मान्यता अनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ । केही संस्कृतिमा महिनावारीलाई सम्मानका दृष्टिले हेरिने भए पनि विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ । यसैका आधारमा महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन बञ्चित गरिन्छ । नेपालमा पनि यस्तो अन्धविश्वास रहेको पाइन्छ । महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न समेत सकेका छैनन् । यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update