Shittalpati
पाल्पामा खस्कियो माटोको उर्वराशक्ति

पाल्पा, कृषि उत्पादनका लागि उर्वर मानिने पाल्पामा पछिल्लो समय खेतीयोग्य जमिनको उर्वराशक्ति खस्केको छ । माटोमा अम्लीय पदार्थ बढ्दै गएपछि माटोको उर्वराशक्ति खस्केको हो । कृषि ज्ञानकेन्द्रले निरन्तर माटोको जाँच गर्दा माटो बिग्रिएको अवस्थामा पाइएको जनाएको छ ।

रासायनिक मलको निरन्तर प्रयोगले माटो बिग्रँदै गएको हो । ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका १० वटै स्थानीय तहमा गएर एक हजार एक सय ७ माटोको नमूना परीक्षण गरेको थियो ।  यहाँका अधिकांश ठाउँको माटो अम्लीय रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्राविधिक लवकुस प्रसाद कुर्मीले बताए । ‘हामीले ११ सय ७ माटोको नमुना हे¥यौँ, जसमा २ सय ८१  नमूनामा माटो अम्लीय देखिन्छ,’ उनले एनजेडीसँग भने, ‘माटोमा रासायनिक पदार्थ धेरै प्रयोग गर्दा यो समस्या देखिएको हो ।’ कूल नमूना परीक्षणमा १६ वटा नमूनामा क्षारीय, ८ सय १० वटामा (न्यूटल)  तटस्थ रहेको कुर्मीले बताए ।

धेरैजसो बाली उत्पादनका लागि तटस्थ माटो उपयुक्त हुने भए पनि यस्तो खालको माटोको गुणस्तर कम हुने गर्दछ । माटोको पिएच मान ७ हुँदा तटस्थ हुन्छ । त्यहाँभन्दा जति धेरै तल झ¥यो, त्यति नै अम्लीय हुने गर्दछ । यहाँ माटो अम्लीयसँगै, नाइट्रोजन, फसफोरस, पोटास, प्रांगारिक पदार्थ पनि कम छ । मुख्यतः रासायनिक मलको बढ्दो प्रयोगले माटो बिरामी हुँदै गएको कृषि ज्ञान केन्द्रको विश्लेषण छ । प्राविधिक कुर्मीका अनुसार यहाँको १० दशमलव ७५ प्रतिशत माटोमा नाइट्रोजनको मात्रा अधिक रहेको छ । यस्तै परीक्षणबाट ३५ दशमलव ६८ प्रतिशतमा नाइट्रोजनको मात्रा मध्यम र ५३ दशमलव ५७ प्रतिशतमा न्यून रहेको उनले बताए । फस्फोरसतर्फ १२ दशमलव १ प्रतिशतमा उच्च, २७ दशमलव ९१ प्रतिशतमा मध्यम र ६० प्रतिशत न्यून रहेको कृषि प्राविधिक कुर्मीले बताए । उनका अनुसार पोटासतर्फ २१ दशमलव ६ प्रतिशत उच्च, १९ दशमलव ४२ प्रतिशत मध्यम र ५८ दशमलव ९० प्रतिशत न्यून रहेको छ ।  जिल्लामा अम्लीयपन बढ्दै गएको प्राविधि कुर्मीको भनाई छ । ‘यो अवस्था भनेको माटोले उपचार खोजेको अवस्था हो । यतिमा नै माटोलाई उपचार गर्न पहल गरिएन भने उत्पादन र उत्पादकत्व घट्छ,’ उनले भने, ‘कुनै ठाउँको माटो ज्यादै अम्लीय छ । कुनै ठाउँको थोरै मात्र अम्लीय छ । थोरै भएकोलाई केही सुधार गर्न सके सुधार हुन्छ । धेरै अम्लीय भएकोलाई निकै गाह्रो पर्छ ।’ उनले माटोमा भएको अम्लीय पदार्थलाई हटाउन कृषि चुनको प्रयोग गर्नुपर्ने बताए । माटोको गुणस्तर खस्केका कारण उत्पादनमा समेत ह्रास आएको छ । रासयनियक मलको प्रयोग बढ्दै गएका कारण माटोमा अम्लीयपन बढेको प्राविधिक कर्मीको भनाई छ ।

उनले माटोको उर्वशक्ति बढाउन बढी भन्दा बढी कम्पोष्ट मल, जैविक मल प्रयोग गर्न कृषकहरुलाई सुझाव दिएका छन् ।  कृषि केन्द्रले माटोको परीक्षण निःशुल्क  गर्ने व्यवस्था गरेकाले समय–समयमा माटो परीक्षण गर्न पनि कृषकलाई आग्रह गरेका छन् । केन्द्रले बेला बेलामा माटो उर्वशक्ति बढाउन कृषकहरुलाई कृषि सामग्री  समेत दिर्दै आएको छ । हरेक वर्ष डिसेम्बर ५ मा माटोको गुणस्तरका बारेमा प्रचार–प्रसार गर्नुको साथै माटोको परीक्षणका बारेमा जानकारी दिने उद्देश्यले विश्व माटो दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । एफएओको सिफारिसमा संयुक्त राष्ट्र संघको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरेको थियो । नेपालमा भने सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update