Shittalpati
रामपुरमा स्तनपान कक्षले महिला कर्मचारीलाई सहज

रामपुर (पाल्पा), रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् । ‘कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि बच्चालाई साथमा ल्याउने गरेकी छु’, उनले भनिन्, ‘काममा व्यस्त हुँदा स्तनपान कक्षमा सुताउन मिल्छ । बच्चालाई खेल्ने वातावरण मिलेको छ । समय–समयमा स्तनपान गराउन पाइएको छ ।’ सानो बच्चा घरमा छाडेर कार्यालयमा आउँदा मन शान्त नहुने भन्दै आफैँसँग हुँदा मन ढुक्क हुने रानाको भनाइ थियो । स्तनपान कक्षको सुविधा भएपछि उनले चौध महिनाको छोरी कार्यालयमा नै लिएर आउने गरेको बताइन् । यहाँ चार वर्षदखि उनी कार्यरत छिन् ।

खुल्ला ठाउँमा बसेर बच्चालाई स्तनपान गराउन आमालाई निकै समस्या हुने, बच्चाले दूध खान नमान्ने, कार्यालयको काममा नियमित खटिरहनुपर्दा सेवाग्राहीको अगाडि बसेर स्तनपान गराउन अप्ठ्यारो हुने लगायत समस्या रहेकामा स्तनपान कक्ष स्थापना भएपछि आमा र बच्चा दुवैलाई प्रभावकारी भएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले बताइन् । ‘स्तनपान कक्षको सुविधा भएपछि काखको बच्चा कार्यालयमै लिएर आउने गरिएको छ’, उनले भनिन्, ‘कार्यालयभित्र सुविधा सम्पन्न कक्ष रहेकाले बच्चालाई सुताउन, भुलाउन, खेलाउन सजिलो भएको छ ।’ यहाँ सञ्चालित स्तनपान कक्ष महिला कर्मचारी तथा सेवाग्राही महिलाले उपयोग गर्न पाउँदा सन्तुष्ट छन् ।

कर्मचारी तथा सेवाग्राहीको सहजताका लागि पालिकाको पहिलो तलास्थित महिला तथा बालबालिका शाखा कार्यालयभित्र व्यवस्थित रुपमा कक्ष निर्माण गरी प्रयोगमा ल्याइएको नगर उपप्रमुख बालकुमारी थापा बताइन् । उनका अनुसार साउन पहिलो हप्तादेखि स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो । तीन वर्षअघि रामपुर नगरपालिकाले कार्यालय अगाडि सानो ट्याड्ढीमा स्तनपान कक्षको शुभारम्भ गरेको थियो । टिनको छानोमुनी रहेको ट्याड्ढीमा कक्ष सञ्चालन गरिए पनि गर्मीयाममा यहाँ बसेर स्तनपान गराउन समस्या थियो ।  कार्यालयमा स्तनपान गराउने स्थान नभएका कारण बच्चालाई घरमै छाड्नुपर्ने बाध्यता धेरै महिला कर्मचारीको छ । स्तनपान गर्नु÷गराउनु आमा र बच्चाको अधिकार भएपनि अधिकांश कार्यालयमा स्तनपान कक्ष नहुँदा महिला कर्मचारीलाई समस्या छ । बच्चाको स्वास्थ्य र जीवनरक्षाका लागि सबैभन्दा प्रभावकारी तरिका स्तनपान रहे पनि कामकाजी महिलाले आफ्ना बच्चालाई यो अधिकारबाट वञ्चित गराउनुपर्ने अवस्था छ । बालबालिकाको शारीरिक विकासका लागि आवश्यक पर्ने पौष्टिकतत्व आमाको दूधबाट मात्र पाइने हुँदा समय समयमा स्तनपान गराउनु अति आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update