Shittalpati
औपचारिकतामै सीमित नहोस् एड्स दिवस

अंग्रेजी वर्षको प्रत्येक डिसेम्बर एक गते विश्व एड्स दिवसका रूपमा मनाइँदै आइएको छ । आज पनि  नेपालसहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । नेपालमा सन् १९८८ मा पहिलो एड्स संक्रमित भेटिएको प्रमाण छ । त्यसपछिको क्रममा क्रमशः एचआइभी संक्रमितहरुको संख्या भने देशमा बढ्दै आएको देखिन्छ । हाल विश्वभरि नै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिएको एचआइभी पीडितहरुको अवस्थामा विगत केही समययता क्रमिकरुपमा सुधार आइरहेको भएपनि एड्सका कयौं पक्षहरुलाई अझै गहिरोरुपमा सम्बोधन गर्न सकिएको छैन ।

स्वास्थ्य सम्बन्धी सरकारी निकायसँगै मानव स्वास्थ्यका विषयमा काम गर्ने भनिएका सबैजसो एनजीओ, आइएनजीओहरूले कार्यक्रम गरे पनि त्यो प्रभावकारिता देखिदैन । उनीहरुले प्रत्येक वर्ष मोटो रकम यही क्षेत्रमा खन्याएका छन् तर त्यसको उपलब्धि खासै देखिन्न । एचआइभी संक्रमणको अन्तिम अवस्थाको रुपमा लिइने एड्सलाई लिएर देखिने व्यवहार भने अझै पनि अनुकरणीय बन्न सकिरहेको छैन । यो अत्यन्त दुखको कुरा हो । हाल नेपालमा एचआइभीबाट संक्रमित भएकाहरुको संख्या करिब ३० हजारको आसपासमा छ, तर दर्ता नभएकाहरुको संख्यालाई आकलन गर्ने हो भने त्योभन्दा धेरै रहेको हुन सक्ने कुरा सर्वविदितै छ । त्यसमा पनि एआरभीको उपचार सेवा पाउनेहरुको संख्या भने एकदमै नगन्य मात्रामा रहेको देखिन्छ । गरिबी र अशिक्षाका कारण धेरै संक्रमितहरु खुल्न नचाहेका कारण पनि संख्या नगन्य देखिएको हो । एड्सजस्तो घातक रोगप्रति देखिनुपर्ने जुन प्रकारको सचेतना हो त्यसमा भने निकै नै कमी आइरहेको प्रतित हुन्छ । यस क्षेत्रमा काम गर्ने निकायहरुले ठूला शहरका होटल, रिसोर्टहरुमा गरिने गोष्ठी र सेमिनारमा प्रतिवेदन प्रस्तुत गर्दा काम देखिएको हुन सक्छ तर गाउँ, बस्ती अनि एचआईभी संक्रमणले सताइएका ठाउँका वास्तविक पीडितको अवस्था अझै पनि दयनीय नै छ । संक्रमितहरू एआरभी खान नपाएर अनि आफ्नो र परिवारको हेरचाह कसरी गर्ने भन्ने समस्याले थलिनु परिरहेको मात्र छैन अकालमै ज्यान समेत गुमाउनु परेको छ । यसर्थ वास्तविक संक्रमितहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न सके मात्र दिवस मनाउनुले साथर्कता प्राप्त गर्न सक्छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमित बन्ने छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update