Shittalpati
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण

पाल्पा, रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो । 

परीक्षण कार्यक्रममा संस्थागत व्यवस्थापन, मानव संशाधन तथा क्षमता विकास, सेवा प्रवाह, सुशासन तथा उत्तरदायित्व, नीति कानुन तथा योजना गरी ५ वटा सूचक, २२ वटा उपसूचकको १ सय प्रश्नमा आधारित रहेको थियो । यसै क्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले नागरिकमुखी सेवा प्रवाह, समावेशी र सुशासन कायमका लागि परीक्षणले बढावा मिल्ने बताए । उनले परीक्षणले नगरपालिकाबाट भए गरेका काम र सेवा के के गरियो भन्ने विषयको लेखाजोखा मात्र नभई नागरिकमैत्री सहज सेवा र पारदर्शी बनाउने बताए । साथै उनले गत वर्षभन्दा यस बर्ष लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सुधारोन्मूख रहेको भन्दै अझ सुधारका लागि काम गर्न सबै विषयगत शाखाहरुलाई निर्देशन दिएका छन् ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले परीक्षबाट आफुले गरेको कामको मूल्याङ्कन हुने र काम गर्ने प्रेरणा मिलेको बताए । उनले सेवा प्रवाह लगाएय विभिन्न विषयमा भएका सबल पक्ष र दुर्वल पक्ष थाहा पाउने र सुधार गर्ने अवसर प्राप्त हुने उल्लेख गरे । स्थानीय शासन तथा लैगिंक शासन विज्ञ सोभिता परियारले समग्रमा नगरपालिकाको अवस्था सन्तोषजनक रहेको बताइन् । साथै सूचकको आधारमा नगरपालिकाले सन्तोषजनक अंक प्राप्त गरेको र अवस्था सुधारोन्मूख रहेको बताइन् । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागितामा परीक्षण गरिएको हो । साथै सोही अवसरमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार र सबै हिंसाको आचारसंहिता सम्बन्धी छलफल समेत भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update