Shittalpati
औचित्यहिन आन्दोलन

सत्ता र सडकमा प्रदर्शन गरिरहेका दल/समूह जनआन्दोलनको उद्घोष गरिरहे पनि गन्तव्यमा स्पष्ट छैनन् । हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गणतन्त्र फ्याँकेर राजतन्त्र स्थापना गर्ने भन्दै सडक आन्दोलन भइरहेका छन्, भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भने गणतन्त्रविरुद्ध धावा बोलिरहेकाहरूलाई जवाफ दिने उद्देश्यले आन्दोलन गरेको छ । प्रत्यक्ष रूपमा यसो भने पनि यी दुवैको प्रदर्शन एकअर्काविरुद्ध प्रतिशोधका रूपमा आयोजना भएको देखिन्छ । गणतन्त्रको विरोधमा उत्रिएका दुर्गा प्रसार्इंले केही वित्तीय संस्थाको व्याजबाट पीडित नागरिकलाई साथमा लिएर सडकमा आएका छन् । सडकमा आएका ति नागरिक व्यवस्थाको लागि हैन, उनीहरु केवल व्याज मिनाह हुने लोभले आएका हुन् । अहिले २०४६ र २०६२/६३ को जस्तो जनआन्दोलनको कुरा गर्ने बेला भइसकेको छैन । केही व्यक्ति र समुह सडकमा आउनु त उनीहरूको स्वार्थको लडाइँ मात्रै हो । हालै एकाएक उठेको प्रदर्शनको तरंग समुन्द्रमा उठेको ज्वार जस्तो हो । त्यसको कुनै औचित्य छैन् । यसो भन्दैमा हामीले वर्तमान सरकार र सत्तारुढ दलहरूको अन्ध समर्थन गरेको पनि होइन ।

सरकार र दलहरूको कमजोरीलाई हामी निरन्तर विरोध गरिरहेकै छौं । राम्रा कामको समर्थन र नराम्राको विरोधमा सधैं लागिरहनेछौं । हो, जनतामा हालका दिनमा निराशा र चिन्ता उत्पन्न भइरहेको छ, तर हाल एकाएक भइरहेको आन्दोलन सरकारको विरोध प्रदर्शन विना तयारी, विनालक्ष्य, बिना औचित्य उठ्न पुगेको छ । यस्तो आन्दोलनले कुुनै अर्थ राख्दैन । अर्कोतर्फ स्वंय आन्दोलनमा हुमिएकाहरु नै आन्दोलनप्रति प्रतिवद्ध देखिएका छैनन् । केवल उनीहरु आन्दोलनमा जाँदैमा व्याज मिनाहा हुन्छ भने किन नजाने भन्ने सोंचका साथ सडकमा उत्रिएको देखिन्छ । जुन आन्दोलन अहिले विस्तारै हराउँदै गएको छ । शान्तिपूर्ण प्रदर्शन÷विरोध÷ आन्दोलन लोकतन्त्रको सौन्दर्य हो । त्यसैले यसबाट कोही पनि डराउनु आवश्यक छैन । अर्कोतर्फ एउटा व्यक्ति विशेषको रिस साँध्न प्रमुख प्रतिपक्ष जस्तो जिम्मेवार दल लाग्नु पनि उचित हैन । यी दुवैलाई लडाएर/भिडाएर यसबाट फाइदा लिन खोज्नेहरू पनि छन् । यो च्याँखेले पनि अशान्तिरविध्वंशमा नै घिउ थप्ने हो । त्यसैले अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउने काम सरकारी तवरबाट गरिनुपर्छ भने सँगै आफूबाट भएका गल्तीप्रति प्रायश्चित गर्दै सच्चिने प्रतिवद्धता पनि उत्तिकै जरुरी छ । यसर्थ विना तयारी, आवश्यकता र औचित्य पुष्टि नभई गरिएका यस्ता आन्दोलनको कुनै औचित्य छैन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update