Shittalpati
देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’

पाल्पा, केही दिन अघिदेखि व्यवस्थामाथि विरोध र प्रदर्शन हुँदै आइरहेका बेला मौन रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा मुुख खोलेका छन् । देशको ठूलो पार्टीको नेता नै वर्तमान व्यवस्थामाथि प्रहार हुन थाल्दा मौन बसेको भन्ने आरोप लागिरहेका बेला एक औपचारिक कार्यक्रममा भने उनले त्यस विषयमा आफ्नो धारणा राखेका हुन् ।

सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कोही कसैले चाहाँदैमा राजतन्त्र नफर्किने बताएका छन् । उनले भने, ‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन ।’

‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनै पनि गतिविधी हामीलाई मान्य छैन’ सभापति देउवाले भने ।

सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनुु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । सभापति देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको धारणा व्यक्त गरे । जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनको तर्क छ । पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न देउवाले काँग्रेस नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update