Shittalpati
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान

पाल्पा, पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।

करदाता सेवा कार्यालय पाल्पाले कार्यालयमा आउने करदातालाई सत्कार तथा सम्मान, प्रचार–प्रसार, त्रिभूवन बहुुमुुखी क्याम्पसका विद्यार्थीहरुसँग कर सचेतना सम्बन्धी अन्तक्र्रिया लगायतका साताव्यापी कार्यक्रम गरिएको जनाएको छ । करदातालाई कर तिर्नका लागि प्रोत्साहित गर्न हप्ता दिनसम्म कर सप्ताह मनाइएको करदाता सेवा कार्यालय पाल्पाकी कर अधिकृत विमला महतले बताइन् । कर सप्ताह समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुुप्रसाद बास्तोला, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले राज्यलाई तोकिएको कर तिर्नु नागरिकको दायित्व भएको बताए ।

सोही अवसरमा कर कार्यालयले सबैभन्दा धेरै कर तिर्ने ३ विधाका करदाता र उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना कार्यालयका कर्मचारीलाई सम्मान  समेत गरेको छ । उसले उद्योग–व्यापारतर्फ धेरै करतिर्नेदेखि वित्तिय संस्थाका रुपमा कर तिर्नेलाई सम्मान गरेको हो । सर्वाधिक कर तिरेर सम्मानति हुने करदाताहरुमा सबैभन्दा बढी आयकर तिर्ने अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पा रहेको छ । उसले आर्थिक वर्ष २०७८/७९ मा चौविस लाख सरसट्टी हजार नौ सय उनासी रुपैयाँ आयकर दाखिला गरेको थियो । त्यसैगरी कञ्चन क्वेरिज तिनाउ पाल्पाले अठार लाख चालिस हजार सात सय दुई र तानसेन ट्रेड कन्सर्नले चौध लाख पचासी हजार चौवन्न रुपैयाँ दाखिला गरेको कार्यालयकी नासुु योगमाया न्यौपानेले बताइन् । यस्तै उत्कृष्ट कार्यसम्पादन गर्ने २ जना कार्यालयका कर्मचारीलाई पनि सम्मान गरिएको छ । जसमा नासु योगमाया न्यौपाने र कार्यालय सहयोगी सावित्रा बोहोरा रहेका छन् ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, मालपोत कार्यालय प्रमुख, उद्योग वाणिज्य संघ लगायत निर्माण, उद्योग, व्यवसायसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यालय प्रमुख कर अधिकृत विमला महतको अध्यक्षता, कम्प्युटर अपरेटर विष्णुकुमारी खत्रीको स्वागत नासु योगमाया न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दै २०६९ देखि प्रत्येक वर्ष मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदै आइएको छ । यस वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ देशभर नै कर दिवस तथा कर सप्ताह मनाइएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update