Shittalpati
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने

पाल्पा, पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा मंसिर ९ र १० गते दुई दिने न्वागी महोत्सव हुने भएको छ । यस बर्षको न्वागी यही मंसिर ९ गते परेको छ । पश्चिम पाल्पा, पुर्वी अर्घाखाँची र दक्षिण गुल्मी क्षेत्रमा नयाँ धान रैनादेवीलाई अर्पण गरी देवीको पुजा पाठ गरी खाने प्रचलनलाई न्वागी पर्व भन्ने गरिन्छ ।  यति बेला सबै कृषकहरुले नयाँ धान घर–घरमा भित्राईसकेका छन् । तान्त्रिक विधिबाट रैनादेवी मन्दिर परिसरमा लामाधामीले न्वागीको मिति तोक्ने परम्परा रहेको पाईन्छ । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको पाईन्छ ।

रैनादेवी छहरा गाउँपालिकाले इतिहास, परम्परा, कला संस्कृति जर्गेना गर्दै रैनादेवी धार्मिक क्षेत्रमा पर्यटकीय गतिविधी बढाउन दुई दिने न्वागी महोत्सवको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले बताए । गाउँपालिकाले स्थानीय कला संस्कृति जोगाउदै प्रचार–प्रचार बढाउन अन्य वडाका कला संस्कृतिहरुलाई विशेष रुपमा मनाउँदै आएको अध्यक्ष  भट्टराईले बताए । मुझुङ्गको कटौजेपानी कालिका मन्दिरमा लाग्ने सराय नाच, छहराको लमिनी सराय नाच, लगायत यस क्षेत्रका विशेष परम्परागत कला संस्कृतिहरुलाई पालिकाले उच्च स्थान दिएको उनले बताए ।

न्वागी महोत्सवमा आउने सबै भक्तजन, पर्यटक, तथा दर्शकहरुलाई रैनादेवी मन्दिरमा दहि, चामल खुवाउने व्यबस्था मिलाएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । न्वागीको अवसरमा रैनादेवी छहरा गाउँपालिका स्तरीय सोरठी नाच प्रतियोगिता सञ्चालन गरिने छ । जसमा प्रथम हुने टोलीलाई १२ हजार,  दोस्रो  हुने टोलीलाई ९ हजार, तेस्रो  हुनेलाई ७ हजार र सहभागी सबै टोलीलाई यातायातको व्यबस्था गरिएको अध्यक्ष पौडेलले बताए । न्वागी महोत्सवको लागि विभिन्न उप समितिहरु तयारीमा जुटेका छन् । केही बर्ष देखी गाउँपालिकाले स्थानीय कला संस्कृति बचाउन, युवा पुस्तामा कला संस्कृति सिकाउन न्वागी महोत्सवमा सोरठी ठूूलो नाचलाई प्रतियोगिताको रुपमा सञ्चालन गर्दै आएको छ । न्वागी पर्व यस क्षेत्रको ठूलो पर्व रहेको टाढा–टाढाबाट भक्तजनहरु रैनादेवीको पुजाआजाको लागि आउने गरेको पुजारी मिन बहादुर दर्लामीले बताए ।

रैनादेवी मन्दिर परिसर गोखुङ्गाबाट लामो रेञ्जका हिमालहरुको साथै पाल्पा, गुल्मी, अर्घाखाची जिल्लाको दृश्वालोकन गर्न उपयुक्त ठाउँ रहेको छ । वडा कार्यालय रैनादेवी क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरी स्थानीयस्तरमा होमस्टे सञ्चालन गर्ने तयारीमा समेत जुटेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update