Shittalpati
राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र

पाल्पा,हरिबोधिनी एकादशीका अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा एकादशी मेला लाग्ने भएको छ । ‘हाम्रो राम्दी, हाम्रो धाम, एकादशी मेला, सबै राम्दी जाम’ भन्ने  नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा यही मंसिर ७ गते एकादशीका दिन मेला लाग्न लागेको हो ।

कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ । मेलाको तयारी तीव्र रुपमा अगाडि बढाइएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले जानकारी दिए । उनले संस्कृतिको संरक्षणसँगै राम्दीको प्रचार–प्रसार गर्नु मेलाको मुख्य उद्देश्य रहेको बताए । अध्यक्ष भट्टराईका अनुसार मेलाको स्टेज व्यवस्थापनसँगै आर्थिक स्रोत जुटाउनेदेखि अथितिहरुलाई निमन्त्रणा पठाउने काम सकिएको छ । मेलामा भजनकृतन, शंख फुक्ने, रामनदी धामको बारेमा महात्मा ज्ञान प्रवचन, पाल्पामा जन्मिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय भजन, सोरठी जस्ता प्रस्तुती रहने उनले बताए ।

सोही अवसरमा बहुचर्चित लोकदोहोरी गायीका लक्ष्मी न्यौपानेलाई अभिनन्दन गरिने छ । एकादशीका दिन कालीगण्डकी किनारमा स्नान गर्न जानेहरुको बाक्लो उपस्थिती हुने भएकाले पनि सोही दिन मेला आयोजना गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले बताए । उनले मेलाको प्रचार–प्रसार गरिदिन पनि जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । मेलाको डिभिजन वन कार्यालय पाल्पा आयोजक र संरक्षकको रुपमा बगनासकाली गाउँपालिका रहेका छन् । पत्रकार सम्मेलनमा  प्रमुख अतिथि पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले स्थानीय सरकारले गर्नु पर्ने काम प्रतिष्ठान गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले नदी सभ्यतासँग जोडिएको र धार्मिक, पर्यटनका हिसाबले पनि महत्वपूर्ण मानिने राम्दीको प्रचार–प्रसारका लागि मेला आयोजना गरिनु सकारात्मक रहेको उल्लेख गरे । अध्यक्ष रानाले स्थानीय कलासंस्कृतिको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका सल्लाहकार तथा तानसेन नगरपालिका– ६ का वडा अध्यक्ष सागरमान महर्जनले राम्दीमा लाग्ने ऐतिहासिक मेलाहरु हराउँदै जान लागेको बेला प्रतिष्ठानले त्यसको संरक्षणमा चासो देखाउनु राम्रो रहेको बताए । उनले प्रतिष्ठानले गर्न लागेको काममा स्थानीय सरकारको समेत सहयोग रहने बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना, नेपाल टेलिभिजनका पाल्पा संवाददाता कमल अधिकारी लगायतले मेलालाई सफल पार्न आफुहरुको सहयोग रहने बताए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, सञ्चार संयोजक गणेश न्यौपानेको सञ्चालनमा भएको थियो । हरिबोधनी एकादशीको अवसरमा  हरेक वर्ष पवित्र कालीगण्डकी किनारमा स्नान गर्ने, तोरण तार्ने र मेला भर्नेको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकी नदीको तटमा नुहाउन, तोरण तार्न हजारौं भक्तजन टाढाबाट समेत पुग्ने गर्दछन् । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी नदीमा स्नान गर्ने, पूजा गर्ने र तोरण तार्ने गर्दा धर्म हुन्छ भन्ने जनविश्वास यस क्षेत्रमा छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update