Shittalpati
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो


भैरहवा, प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१ सवारी दुर्घटना हुँदा ५४ को मृत्यु, ८० गम्भीर घाइते र ६० सामान्य घाइते भएका थिए । चालु आव २०७६/०७७ को चैतमा ५२ सवारी दुर्घटना भएका छन् भने यसबाट २१ को मृत्यु, ५० गम्भीर घाइते र १३ सामान्य घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक मधुसूदन लुइँटेलले जानकारी दिए ।

गत आवको २०७५/०७६ वैशाखमा ९० सवारी दुर्घटना हुँदा ५८ को मृत्यु, ६३ गम्भीर घाइते र ४३ सामान्य घाइते भएकामा । चालु आव २०७६/०७७ वैशाखको अहिलेसम्म २१ सवारी साधनमा चारको मृत्यु, सात गम्भीर घाइते र नौ सामान्य घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । गत आव २०७५/०७६ वैशाखसम्मको १० महिनामा यस प्रदेशमा सवारी दुर्घटना ८ सय ६८ भएका थिए भने मृत्यु हुनेको संख्या ४ सय ९६ र गम्भीर घाइते ७ सय ८५ र सामान्य घाइते ५ सय ८६ भएकामा चालु आवमा २०७६/०७७ मा मृत्युदर केही घटेको छ । चालु आवको वैशाखसम्मको १० महिनामा सवारी दुर्घटना ८ सय ५८ भएकोमा मृत्यु हुने ३ सय ९२, गम्भीरर घाइते ८ सय ३४ र सामान्य घाइते ४ सय ३२ रहेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवल सूचना शाखाले जनाएको छ । बन्दाबन्दीसँगै प्रदेशमा ट्रक पाँच हजार ८ सय १८, बस ८ सय ८७, जिपकार पाँच हजार २ सय २१, ट्रयाक्टर १९, मोटरसाइकल दुई हजार ५ सय ३०, अटो दुई र अन्य एक गरी १४ हजार ४ सय ७८ मालवाहक तथा सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरीको तथ्याङ्कमा देखिएको छ । ती साधनमा ३६ हजार ९ सय ४३ मानिसले आवतजावत गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update