Shittalpati
रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना

पाल्पा, जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।

नगर सरकार आफैले उत्पादन गरेको काउली, ब्रो काउली, बन्दा र प्याजका बेर्ना कृषलाई उपलब्ध गराएको छ । एभरेष्ट ग्रीन जातको ब्रोकाउली, सुपर ह्वाइट टप जातको काउली, ग्रीन टप बन्दा, रेड क्रियोल र नासिक–५३ जातको प्याजको बेर्ना कृषकहरुलाई वितरण  गरिएको कृषि शाखाले जनाएको छ । नगरपालिकाले ब्रोकाउली प्रति बेर्ना ३ रुपैयाँ, काउली र बन्दा २ रुपैयाँ ५० पैशामा वितरण गरेको छ भने वितरणको तयारीमा रहेको प्याजको बेर्ना १ रुपैयाँको १० वटाका दरले वितरण गर्नेछ । पहिलो दिन सोमबार ब्रोकाउली २ हजार ३ सय १, काउली २ हजार ६ सय ८९ र वन्दा २ हजार ६ सय ५५ गरी जम्मा ७ हजार ६ सय ४५ वटा बेर्ना वितरण गरिएको छ । सहुलियत दरमा तरकारीको बेर्ना पाए पछि कृषकहरु उत्साहित भएका छन् । बाहिर किन्नुपर्दा लागत धेरै लाग्ने र अनुदानमा पाएको बेर्नाले राहत महशुस भएको सदावर्तका व्यवसायिक कृषक विनोद श्रेष्ठले बताए । उन्नत जातको ब्रोकालउली , काउली, बन्दा र प्याजको बेर्ना नगरपालिकाले सहुलियत दरमा दिए पछि आफु हर्षित भएको पुलामी कृषि तथा पशुपन्छी फर्मका सञ्चालक महेन्द्रबहादुर पुलामीले बताए । आफुले ब्रोकाउली, काउली, बन्दा गरी २३ सय बेर्ना न्यून मुल्यमा पाएपछि थप हौसला मिलेको सुनाए ।

विगतको बर्षमा बाहिर बढि लागतमा बेर्ना किनेर लगाए पनि यस वर्ष नगरपालिकाले नै ५० प्रतिशत अनुदानमा तरकारीको बेर्ना पाउँदा खुशी लागेको रामपुर –६ विजयपुरका कृषक प्रेमराज गैरेले बताए । बेर्ना वितरण गर्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले कृषकहरुको राहत र प्रोत्सहानका लागि अनुदानमा बेर्ना वितरण गरिएको बताइन् । उनले तरकारी खेतिमा कृषकहरुलाई आकर्षित गरी उत्पादनमा वृद्धिसँगै नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताइन् । कृषकहरुको मागको आधारमा यही कार्तिक १८ गते सम्म अनुदानमा बेर्ना वितरण गरिने कृषि शाखाका जेटिए युवराज नेपालीले बताए । माग गर्न सकिने बेर्नाको परिमाण कृषकले लगाउने क्षेत्रको आधारमा उपलब्ध गराईएकाले बेर्ना आवश्यक पर्ने कृषकले समयमै कृषि शाखामा सम्पर्क गर्न पनि उनले अनुरोध गरे । नगरपालिकाले प्याजको बेर्ना भने आगामी कार्तिक २० गते देखि मात्रै कृषकहरुलाई वितरण गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update