Shittalpati
महँगी नियन्त्रण गर

कुनै ठूलो चाडबाड होस् या अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि सानो बहाना पाउनुहुन्न, नेपाली व्यापारी–व्यवसायीहरू जेमा पनि भाउ बढाइहाल्छन्रु। अहिले दशैं तिहार जस्ता चाडपर्वहरु नजिकिएका छन् जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने समय पनि हो । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । स्वाभाविक सीमाभन्दा बढी मूल्य वृद्धि हुन नदिने आफ्नो दायित्वलाई सरकारले सम्पूर्ण रूपमा भुलेको छ । चाडपर्व नजिकिएसँगै बजारमा खाद्यान्नहरुको मूल्य अचाक्ली बढेको छ । जसका कारण उपभोक्ताहरु मारमा परेका छन् । विशेष गरी चाडपर्व मिठो खाने र लाउने पर्वका रुपमा लिने गरिन्छ । तर यस पटक खाद्यवस्तुहरु महँगिदा सामान्य आय भएका नागरिकहरुको दसैँै खल्लो हुनेमा चिन्तित छन् । खासगरी, खाद्यान्न, तरकारी र कपडाको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दसैँ नरमाइलो हुने निश्चित छ । 

बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको पाइँदैन । बजारमा मल्य वृद्धि हुनु नै महँगी बढ्नु हो । नेपाल सरकारलाई भने निकट भविष्यको मात्र होइन, अहिले बजारमा अकासिइरहेको महँगीको समेत कत्ति पनि पर्वाह देखिँदैन । कदाचित सरकारलाई यस्तो चिन्ता हुँदो हो त उसले बजार मूल्यलाई स्वाभाविक मात्राभन्दा बाहिर जान नदिन उचित पहल थालिसक्नुपथ्र्यो । मूल्यवृद्धि नियन्त्रण गर्नेतर्फ सरकार वा सम्बन्धित निकायले कुनै सक्रियता नदेखाउनु आफैमा दुःख र चिन्ताको विषय हो । राज्यको उपस्थिति हुँदाहुँदै पनि उचित बजार नियन्त्रण हुन नसकेपछि कालाबजारियाहरु हौसिएका छन् । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । जसले गर्दा आम उपभोक्ताको भान्सा महँगी बन्न पुगेको छ । यसरी आम नागरिकको भान्सामा महँगी बढ्दै गएका बेला सरकार र सरोकारवाला निकाय मुकदर्शक भएर बस्न कदापि मिल्दैन । यस सम्बन्धमा स्थानीय प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेर केही न केही ठोस कदम चाल्न आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update