Shittalpati
चाडपर्वका बेला सचेत बनौं

हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ लागेसँगै सहरबजार तथा कार्यथलोबाट घर फर्किनेको चाप बढ्दो छ । घर फर्किनेको ताँती टीकाको अघिल्लो दिनसम्मै कायम रहने छ । पर्व मनाउन घर फर्किनेको संख्याले हर्ष, उल्लास र रमाइलोको पनि संकेत गर्छ, तर रमाइलोसँगै यो अवधिमा अपराधका घटना पनि बढ्न सक्छन् । कार्यथलोबाट चाडपर्व मनाउन घर गएको मौका छोपेर अपराधिक मानसिकता भएका व्यक्ति तथा समूहले चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढाउन सक्छन् । अझ यो जोखिम सहरी इलाकामा बढी देखिन्छ । गलत प्रवृत्ति भएका र आपराधिक चिन्तन बोकेका मानिस यसै पनि चाडपर्वको समयमा सक्रिय हुन्छन् । भीडभाडको अनुचित फाइदा उठाउँदै चोरी, डकैती र ठगी धन्दा यस्तै मानिसबाट भएको पाइन्छ । चाडपर्वको समयमा गाउँघरमा समेत चोरी, डकैतीको सम्भावना हुन्छ । खसीबोका चोरदेखि गरगहना लुटपाट गर्ने तत्वहरु जुनसुकै ठाउँमा पुग्न सक्ने भएकाले विशेषगरी चाडपर्वको समयमा आफू र आफ्नो सामानको सुरक्षा गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।       

चाडपर्वका बेला घट्ने यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले आफ्नोतर्फबाट प्रयास गर्दै आएको छ । त्यसैले हरेक वर्ष चाडपर्व लक्षित विशेष सुरक्षा लागू गर्ने गरिएको छ तर, यतिले मात्रै पुग्दैन । प्रहरीको प्रयासका बाबजुद पनि दुर्घटना, चोरी जस्ता आपराधिक क्रियाकलाप हुने गरेका छन् । अपराधका घटना समुदायमा घट्ने र अपराधी पनि समुदायमै रहने कारणले प्रहरीबाट सबै सम्भव छैन । त्यसैले चोरी जस्ता घटनामा सबै नागरिक जागरुक बन्न आवश्यक छ । अहिले मनोरञ्जनदेखि गोपनीयता अपनाउनुपर्ने विषयमा समेत मानिसहरु सामाजिक सञ्जालमा छताछुल्ल पोखेको पाइन्छ । समान किन्दै, पैसा झिक्दै, परिवारसँग फलानो ठाउँमा घुम्न जाँदै मैले यस्ता गहना किने जस्ता नितान्त व्यक्तिगत र पारिवारिक कुरासमेत सार्वजनिक गर्दा गलत मनसाय भएका व्यक्तिले अनुचित फाइदा उठाउन सक्छन् । तसर्थ चोरी, डकैती जस्ता अपराधिक गतिविधि हुन नदिन बेलैमा सजग र सचेत बनौं ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update