Shittalpati
रामपुरका टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । नगरपालिकाले हरेक नागरिकको सहजताको लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।

दुरी टाढा भएका कारण र वृद्ध–वृद्धा भएका जेष्ठ नागरिकलाई बैंकसम्म पुग्नु पर्ने बाध्यता र लाईन बस्नु पर्ने सास्ती भएकाले यसको अन्त्यका लागि वडा नं. १ को टोलबाट भत्ता वितरण सुरु गरिएको नगर सरकारले जनाएको छ । वडा नं. १ को बर्दाकोट टोलबाट भत्ता वितरण सुरु गरिएको हो । कृषि विकास बैंकका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, नगर प्रवक्त एवं वडा अध्यक्ष कपिल बहादुर खाँणले टोल बाटै भत्ता वितरण कार्यको शुभारम्भ गरेका छन् ।

नगर प्रमुख रमणबहादुर थापाले दुरीका हिसाबले टाढा रहेका वृद्ध बुवा आमा, अपा·ता भएका नागरिक र एकल महिलाहरुको लागि मध्यनजर गरेर टोल बाटै भत्ता वितरण सुरु गरिएको बताए । जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन नगरका ग्रामीण भेग टोल बाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यलाई अगाडि बढाइएको उनको भनाई छ । प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले नगर कार्यपालिकाले निर्णय गरी कृषि विकास बैंकसँंग सम्झौता गरी बैंकका कर्मचारीहरुको उपस्थितिमा भत्ता वितरणको व्यवस्था गरिएको जानकारी दिए । प्रवक्ता कपिल बहादुर खाँणले सरकारले दिने सेवा सुविधा प्राप्त गर्न पनि धेरै समय र गाडी भाडा खर्चेर कष्टका साथ जानु पर्ने वडाबासीहरुको बाध्यतालाई मध्यनजर गर्दै वडा कार्यालय र टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको  बताए ।

कृषि विकास बैंक रामपुर शाखाले टोलमा पुगेर बैंक खाता खोलेर अहिले भत्ता वितरण थालेको शाखाका प्रबन्धक केशवराज डोटेलले जानकारी दिए । टोल बाटै भत्ता बुझ्न पाउँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् । रामपुर १ बर्दाकोटका ९० वर्षिय थीर बहादुर थापा मगरले टोल बाटै भत्ता पाउँदा खुशी लागेको बताए । ‘सुरुवातमा हामीले गाउँ बाटै भत्ता लिएका थियौं । बिचमा बैंकबाट लिने भनेर रामपुर जानु पर्ने भयो । हिडेर जान नसकिने, गाडीमा चढेर जानु पर्ने बाध्यता थियो । अहिले फेरी गाउँ बाटै लिन पाउँदा खुशी लागेको छ’ उनले भने । नगरपालिकाको कार्यले निकै सहज भएको अर्का स्थानीय पुन बहादुर सारुले बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update