Shittalpati
गरिबी निवारण दिवसको सार्थकता

आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । नेपालमा जनताको जीवनस्तरमा परिवर्तन भई गरिबी निवारण गर्ने लक्ष्य राखिए पनि यो सधैँ चुनौतीका रुपमा रहिआएको छ । बर्सेनि दुई प्रतिशतका दरले गरिबी घटिरहेको तथ्याङ्क सार्वजनिक हुने गरे पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा भने खासै परिवर्तन हुन सकेको छैन ।

अझै पनि देशका धेरै नागरिक गरिबीका कारण आधारभूत आवश्यकताबाटै बञ्चित भइरहेका छन् । संविधानले आधारभूत आवश्यकताबाट कोही पनि बञ्चित हुन नपर्ने व्यवस्था गरे पनि गाँस, बास र कपासकै समस्याबाट धेरै नागरिक गुज्रिनुु परेको छ । यो अत्यन्त दुःखको कुरा हो । गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट बञ्चित हुनु नै गरिबी हो । कुनै पनि मुलुकले गति लिन नसक्नुको पछाडी प्रमुख कारण गरिबी नै हो । बहुआयामिक गरिबीको मापन स्वास्थ्य, शिक्षा र जीवनस्तरसँग सम्बन्धित १० वटा सूचकका आधारमा गरिन्छ । पोषण, बाल मृत्युदर, विद्यालय गएको औसत वर्ष, हाजिरी भएको दर, खाना पकाउने इन्धन, सरसफाइ, खानेपानी, विद्युत, घर र सम्पत्तिको स्वामित्वजस्ता सूचकमा बञ्चित भएका मानिसलाई गरिब मानिन्छ । गरिबी पनि राज्यका अंगसँगै जोडिएर आउने विषय भएकाले यसको निवारणका लागि सरकारका सबै निकाय क्रियाशील भएर लाग्न आवश्यक छ । यसो भयो भने मात्र हरेक वर्ष गरिबी निवारण दिवस मनाउनुले सार्थकता पाउन सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने निश्चित छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update