Shittalpati
दसैँ र यसको महत्व

प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दसैँ भनिन्छ । यसलाई ठूलो चाडका रुपमा लिइन्छ । दसैँ सबैभन्दा लामो र देशभर सबै जातजाति र धर्मले अवलम्बन गर्ने गरेको पाइन्छ । विशेषगरी, हिन्दुहरुले वर्षदिनमा एकपटक मनाउने चाड दसैँ सम्पूर्ण नेपालीहरुको एक प्रमुख महान् चाडपर्व हो । जुन आज घटनास्थापनादेखि सुरु भएको छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । सोही दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ । नवरात्री आरम्भ दिन बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौँ छरिन्छ । नवरात्रको पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने, शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने परम्परा रहेको छ । मुख्यरुपमा देवी दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । अझ विभिन्न दुर्गा शक्ति पीठहरुमा पूजाआजा गरी पशुबली समेत दिइने गरिन्छ । 

दसैँलाई दुष्टमाथि सत्यको विजयका उत्सवका रुपमा समेत लिने गरिन्छ । आसुरी शक्तिमाथि विजय प्राप्त गरेको दिनका रुपमा समेतलिने गरिएकाले कतिपयले यसलाई विजयादशमीका रुपमा समेत बुझ्ने गर्दछन् । पौष्टिक खानेकुरा र मनोवैज्ञानिक दृष्टिकोणले दसैँ बालबालिकाका लागि महत्वपूर्ण चाड हो । दसैँमा बालबालिकाले लामो छुट्टी पाउँछन् । दसैँका लागि भनेर जतिसुकै विपन्न वर्गका व्यक्तिको घरमा पनि अन्य बेलाभन्दा दसैँमा खानाको परिकार भिन्न हुन्छ । दशमीका ेदिनलाई नेपालीहरुले टीकाको दिन पनि भन्ने गर्छन् । तसर्थ, आफ्ना इष्टमित्र, नातागोताका मानिसहरु आफूभन्दा ठूलाबडा एवं आफ्ना मान्यजनहरुबाट आशीर्वाद स्वरुप टीका र जमरा लगाउन जाने र आउने, नयाँ–नयाँ लुगा कपडाहरु लगाउने, आफ्नो हैसियत अनुसारमीठा–मीठा खानेकुरा, मासु बनाई खाने, खुवाउने र घरआँगन, टोल, समाजमा सरसफाइ राख्ने जस्ता कार्यहरु हर्ष र उत्साहका साथ गर्ने भएकाले पनि यो पर्वको महत्व झन् बढेर गएको छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनु पर्दछ तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक र स्वास्थ्य अवस्थालाई ख्याल गर्न सकेनौँ भने यसले हामीलाई दसैँ नभएर दशाको रुपमा परिणत गरिदिन्छ । तसर्थ दसैँको महत्वलाई आत्मसाथ गर्दै आफ्नो गच्छे अनुसार पर्व मनाउन जरुरी छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update