Shittalpati
आयुर्वेद अस्पतालको सेवालाई प्रभावकारी बनाऊ : नगर प्रमुख थापा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आयुर्वेद अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । रामपुर आयुर्वेद अस्पताल रामपुरको अनुगमन गर्दै नगर प्रमुख थापाले आयुर्वेद चिकित्सा प्रणालीको महत्व बढ्दै गएकाले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने ‘मानव स्वास्थ्यका लागि आयुर्वेदिक उपचार पद्धति महत्वपूर्ण रहेको भन्दै त्यसप्रति विश्वास समेत बढ्दै गएको छ,त्यसैले सेवालाई पनि थप प्रभावकारी बनाउनुपर्छ ।’ आयुर्वेद पद्धतिको उपचार र औषधि सेवनले मानिसको स्वास्थ्यमा असर नगरी रोगको उपचार हुने नगर प्रमुख थापाले बताए ।  उनले आयुर्वेद अस्पतालबाट दिने सेवालाई प्रभावकारी बनाउन अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । स्थानीयस्तरमा पाईने जडिबुटीलाई  प्राथमिकता दिएर औषधि उत्पादनका लागि ध्यान दिन  पनि उनले आग्रह गरे । अस्पतालमा आवश्यक उपकरणका लागि संघीय मन्त्रालयमा प्रस्ताव पेश गरेको भन्दै नगर प्रमुख थापाले स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न पनि पहल गर्ने बताए ।

अस्पतालको अनुगमन पश्चात कर्मचारीहरुसँगको छलफल कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले आयुर्वेदिक उपचार पद्धति र अस्पतालको प्रचार–प्रसार आवश्यक रहेको औल्याए । उनले अस्पतालबाट हुने सेवालाई विश्वासिलो र प्रभावकारी बनाउन निर्देशन समेत दिए । छलफलमा अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले अस्पतालबाट प्रदान गरिने विभिन्न सेवा र आवश्यकताको बारेमा जानकारी गराउँदै तत्काल आवश्यक उपकरणको व्यवस्था गरिदिन अनुरोध गरे । आयुर्वेदिक उपचार पद्धति अन्य पद्धति भन्दा राम्रो भए पनि सबैले बुझ्न नसक्नु दुखद् रहेको बताए । अस्पतालबाट अहिले दैनिक ४० जनाले सेवा लिंदै आएको र यो आर्थिक बर्षमा करिब १२ सय जनाले उपचार सेवा लिएको अस्पताल प्रमुख पोखेलले जानकारी दिए । अस्पतालमा अहिले पञ्चकर्म र पूर्वकर्म अन्तर्गत स्नेहन, स्वयदन, वस्ती सेवा, पाईल्सको ड्रेसिङ, सर्वसुलभ दरमा ल्याब सेवा, विभिन्न रोगको आयुर्वेदिक औषधि, नेपाल सरकारले निशुल्क प्रदान गर्ने २३ प्रकारका आयुर्वेदिक औषधि वितरण  र आयुर्वेद चिकित्सकद्धारा दैनिक उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update