Shittalpati
सडक सुरक्षामा ध्यान देऊ

यतिबेला पाल्पा, गुल्मी सहित देशका अधिकांश सडकहरु जोखिम पूर्ण रहेका छन् । जताततै खाल्डा र खुल्डीका कारण यहाँका सडकहरु जोखिमपूर्ण बनेका हुन् । ग्रामीण क्षेत्रका सडक मात्र होइनन् यहाँ मुख्य–मुख्य सडकहरु हिँड्न समेत लायक छैनन् । कतै खाल्डा, कतै धुलाम्य सडकले सवारी साधन मात्र होइन ति सडकमा यात्रा गर्ने यात्रुहरु समेत प्रभावित भएका छन् । दसैँ, तिहार जस्ता चाडपर्वहरु नजिकिदै छन् । दसैँ मान्न घर फर्कनेहरुको भीड बढ्न थालेको छ । यो क्रम घटस्थापनादेखि तीव्र हुन्छ । तर सडकको दूरावस्थाको कारण सडकमार्गको यात्रा अत्यन्तै कठिन बनेको छ । नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने, बुटवल–पाल्पा, तानसेन–रिडी लगायत अधिकांश सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ । धेरैका लागि दसैँमा गाडी नपाइएला कि, पाइएपनि समयमा र सुरक्षित रूपमा नपुगिएला कि भन्ने चिन्ता रहेका बेला सडकको दुरवस्थाका कारण भने पिरोलिन बाध्य बनाएको छ । यो अत्यन्त दुःखको कुरा हो ।

सडकमा खाल्डाखुल्डी भए पुरेर, एकतर्फी मात्र रहेका ठाउँमा दुईतर्फी आवागमन मिलाएर चाडपर्वमा सकेसम्म सहज रूपमा गाडी सञ्चालन हुने व्यवस्था मिलाउनु अहिलेको आवश्यकता हो । सवारी चाप अत्यधिक हुने दसैँ–तिहारजस्ता चाडपर्वका बेला सडककै कारण ट्राफिक व्यवस्थापन जटिल बन्ने गर्छ । सडकमा सहज आवागमन भइरहोस् भनेर सरकारले सडकको मर्मतसम्भार नियमित रूपमा गर्नुपर्ने हो तर त्यस्तो पाइँदैन । आम जनमानस दिनहुँ हिँडडुल गर्ने व्यस्त सडकको सामान्य सुधार गर्न पनि सरकार उदासीन हुनु विडम्बनाको हो । साँघुरो सडक र अव्यवस्थित सवारी साधनका असुरक्षित सडक हुँदा बेला–बेला दुर्घटनाहरू भइरहन्छ । त्यस्ता दुर्घटनाले मानवीय तथा भौतिक क्षति बढिरहेको छ । सडक साँघुरो हुनु र सडक सुरक्षा नहुँदा यस्ता घटनाहरू धेरै हुँदै आएका छन् । दुर्घटना नहोस् भन्नका लागि समेत सडकलाई दुरुस्त राख्नुपर्छ । पर्वका बेला पहिरो वा अन्य कुनै कारणले सडक अचानक अवरुद्ध हुन जाँदा धेरै यात्रु अलपत्र पर्न सक्ने भएकाले आवागमन तत्काल खुलाउने गरी प्रवन्ध मिलाउन पनि आवश्यक छ । तसर्थ नजिकिदै गरेका चाडपर्वमा यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि सम्बन्धित निकायले सडक सुरक्षामा ध्यान दिन जरुरी छ ।  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update