Shittalpati
प्राकृतिक प्रकोप नियन्त्रण दिवसको सार्थकता

प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । नेपालमा वर्षायाममा प्राकृतिक प्रकोपले सताउने गर्दछ । प्राकृतिक प्रकोपका कारण बर्सेनि मानिसहरुले विभिन्न किसिमका मानवीय क्षति, भौतिक क्षति व्यहोर्दै आउनु परेको कुरा सर्वविदितै छ । प्राकृतिक प्रकोप भनेको मानिसको पहुँचभन्दा बाहिरको कुरा हो । मानिसले चाहेर र नचाहेर अर्थात् उसले यससँग सम्झौता गर्न र आफ्नो पहुँचमा राख्न सक्दैन । बाढी, पहिरो, आगालागी जस्ता प्राकृतिक प्रकोप आम जनसमुदायका लागि चुनौतीका रुपमा देखापरेको छ । यस्ता क्रियाकलाप नियन्त्रण गर्न सबै एकताबद्ध हुन आवश्यक छ । प्राकृतिक नियन्त्रण गर्ने उद्देश्यले हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गर्दछ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ । विभिन्न सचेतनामूलक र प्रकोप नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा आम सर्वसाधारणलाई सचेतना  गराउनु दिवसको उद्देश्य हो । तर यसले सार्थक रुप प्राप्त गर्न भने सकेको छैन । अझै पनि मानविय त्रुटिका कारण प्राकृतिक प्रकोपका घटना हुने गरेका छन् ।

अब यस्ता प्रकोपबाट बच्न प्राकृतिक प्रकोपको व्यवस्थापन गर्न जरूरी छ । नेपालमा भौगोलिक बनावट, अव्यवस्थित बसोबास, प्राकृतिक स्रोत र साधनमाथिको बलात्कार, दोहन, योजना बिनाका विकास निर्माणका कार्यको थालनी, बिनासर्वेक्षण र बिनादूरदृष्टि निर्माण गरिएका ग्रामीण सडकहरु जसमा प्राकृतिक स्रोत र साधनको न्यूनीकरणभन्दा पनि राजनीतिक स्वार्थ जोडिएको हुन्छ । जसका कारण प्राकृतिक विपत्ती भोग्नु परेको छ । जुन अत्यन्त विडम्वनाको कुरा हो ।  प्राकृतिक प्रकोपहरु निर्मूल गर्न त नसकिएला तर यसको न्यूनीकरण गर्न अवश्य नै सकिन्छ । यसका लागि प्राकृतिक स्रोतसाधनहरु जल, जमिन र जंगलको अस्वाभाविक दोहन तत्कालै रोकिनुपर्छ । मानवीय बसोबासलाई व्यवस्थित र योजनागत हिसाबबाट मानव बस्तीको सुरूवात गर्नुपर्दछ । विकासका नाममा गरिएका ग्रामीण सडकहरु विस्तार गर्ने कार्यलाई योजनाबद्ध ढंगबाट प्राकृतिक स्रोत र साधनको कमभन्दा कम दोहन हुनेगरी अगाडि बनाउन सकियो भने मात्र पनि केही हदसम्म प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिबाट बच्न सकिन्छ । यसर्थ यसतर्फ ध्यान दिन सकियो भने मात्र हरेक वर्ष मनाइने विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसले सार्थकता प्राप्त गर्न सक्दछ । अन्यता दिवस औपचारिकतामै सिमित बन्न पुग्दछ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update